तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः सांसद शर्मा

.

नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरु बिथोलिएको जिकिर गर्नुभएको हो । उहाँले मञ्चमा कार्यक्रम गर्न नदिकनै आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताउनु भयो । लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरुले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताउनु भयो । सांसद शर्माले पार्टीहरु मिलेर जनतामाथि दमन गरेको बताउनु भयो । तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गर्नुभयो । सरकारले फायर खोलेको भन्दै उहाँले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो । शान्तिपूर्ण रुपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उहाँको आरोप छ । स्वीकृति लिएर आमसभा गर्न जाँदा बोल्न नदिकनै अश्रुग्याँस हान्नुको परिणाम तीनकुने घटना रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिकन, मान्छेलाई बोल्नै नदिकन, अनि सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरु तपाईंले कलेक्शन गरेर हेर्नुस् । एउटा कुरा निश्चित रुपमा देखिन्छ की स्टेजमा कार्यक्रम गर्न दिइएको छैन । हामी लोकतन्त्रवादी हौँ । सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक—फरक खालका विचारहरु स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ । चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी । कुनैपनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ । स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने । अनि जनतालाई गरिखान नदिने ।’
बाइट…डा.सुनिल शर्मा, सांसद, नेपाली काँग्रेस
सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल समशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हत्कडी लगाएर थुनेको बताउनु भयो । यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने बताउनु भयो । नेता द्वय लगायतका आन्दोलनकारीहरुलाई बिना शर्त रिहा गर्न माग गर्नुभयो ।