कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।
बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताउनु भयो । संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिनुभयो । उहाँले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताउनु भयो । राजनीतिक दल तथा जनप्रतिनिधिहरुमा भएका कमीकमजोरी सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ । भूकम्प, बाढी पहिरो, कोभिड जस्ता प्राकृतिक संकटमा सरकारले सीमित स्रोतसाधानका बाबजुत सर्वसाधारको आवास निर्माण तथा क्षतिपूर्तिका राम्रो व्यवस्था गरेको दाबी गर्नुभयो । उहाँले तीनकुने घटनाबारेमा सरकारले निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान सभाको चुनावबाट गणतन्त्र आएको हो । अब यो संविधान नै चेन्ज गर्ने हो भने कुनै पोलिटिकल पार्टीले त्यस्तो इच्छा राख्छ भने दुई तिहाइ भन्दा बढी बहुमत ल्याओस् संविधानमा जे जे संशोधन गर्नुपर्छ गरोस मेरो केही भन्नु छैन । नेपाली जनताले चाहे भने जे पनि हुन्छ । मिडियामा आएर हामी धेरै क्रान्तिकारी कुरा गर्न तर त्यसले देशका लागि कति राम्रो या नराम्रो हुन्छ त्यो हामीले सोच्नु पर्छ । अस्तिको घटनामा पूर्वराजाले जिम्मा लिनुपर्छ । दुर्गा प्रसाईंले मात्रै यसको जिम्मा लिएर हुँदैन । किनभने राजाले एउटा वक्तव्य पोखराबाट जारी गरेका थिए । र त्रिभूवन विमानस्थलबाट स्वागतसाथ पूर्वराजालाई लानु जरुरी थियो ? जनताको असन्तुष्टि होला, सरकारले भनेको जति गर्न नसकेको होला, ससाधानको कमी होला । कोभिडको कारणले डेढ दुई वर्ष देश ठप्प भयो, ठूलो भूकम्प गयो । त्यसपछि ठूलो प्राकिृतिक प्रकोप बाढीको कारणले पनि देशमा क्षति भयो । यी सबै काममा क्षतिपूर्ति तथा घर निर्माण गर्ने कामहरु सरकारको कत्रो संसाधन खर्च भइरहेको छ । गरिब मुलुकको संसाधन कमै होला । हामीबाट पनि कमी कमजोरी भएको होला, त्यसको सुधार पनि गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा पोलिटिकल पार्टीको विकल्प भनेको पोलिटिकल पार्टी नै हो । जस्ले नराम्रो गर्छ त्यसको विकल्पमा अर्को पार्टी र नेतालाई जनताले चुनेर पठाउँछ । यो पुनः तानशाही व्यवस्था लाद्न खोज्ने, संविधान उल्ट्याउन खोज्ने व्यस्था नमान्ने तत्वसँग सरकारले र राजनीतिक पार्टीहरुसँग सम्झौता गर्नु हुँदैन । सरकारले निष्पक्ष छानबिना गरेर घटनाका बारेमा बाहिर ल्यायोस् ।’
मन्त्री चौरसियाले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालिन सरकारका नेतृत्वकर्ता तथा दलहरुले ढुङ्गामुडा खाएर ज्ञानेन्द्र शाहलाई राजा बनाएको बताउनु भयो ।