शसस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताउनुभएको हो । उहाँले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गर्नुभयो । उहाँले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताउनु भयो । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयले प्रहरीलाई सामानहरु वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको । भएको छैन । सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ । त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ । व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन । टेक्नोलोजीकल कारणले, साधन श्रोतको कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन । त्यसले गर्दा धेरै कुरामा समस्या अउने हुन्छ । त्यो अवस्थामा हाम्रो मान्छेहरु पूर्ण रुपमा काम गर्न सक्दैन । सरकार भनेको सरकार, प्रतिपक्ष जनता सबै हो । यसको लागि सबै एकजुट भएर समितिले औपचारिक रुपमै प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न गर्न केके दिनुपर्छ । लिस्ट पनि पठाएका छौँ । त्यसका लागि यहाँबाट निर्देशन भइदियो भने प्रहरीहरु पछि—पछिसम्म पनि सम्झिने वातावरण बन्थ्यो ।’
महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गर्नुभयो ।