प्रदर्शनकारीहरुले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरेका हौंः प्रहरी प्रमुख थापा

.

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तीपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरु अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताउनुभएको हो । उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताउनु भयो । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उहाँको भनाइ छ । उहाँले प्रहरीलाई नै मार्नेगरी बुलेट गाडी चलाइएको समेत बताउनु भयो । उहाँले प्रहरीले शान्तीपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टिकरण दिनुभयो । उहाँले आन्दोलन शुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरु गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको बताउनु भयो । उहाँले प्रहरी आफैंले मञ्चमा अश्रुग्याँस नहानेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौं । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन । त्यसपछि हाम्रो कमाण्डरले उहाँलाई नियन्त्रणमा लिएर झार्ने काम ग¥यो । त्यहाँबाट हामीले उहाँलाई मञ्चमा पठाएका हौं । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरि मञ्चमै उत्तेजक भाषणहरु गर्ने काम गरिरहनु भएको थियो । त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्यास हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गर्ने चल्यो । ग्याँस सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन । हामीले नष्ट नगरेको र मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौं । तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरि आयो ?’

नेपाल प्रहरीको लागुऔषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताउनु भयो । उहाँले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताउनु भयो । अन्यमाथि राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेकोको उल्लेख गर्नुभयो । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उहाँले बताउनु भयो ।