स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नव वर्ष २०८२ सालको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म मुलुकमा पारदर्शिता कायम नहने भन्दै नेपाललाई डिजिटलाइजेसनमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा जनतालाई अधिकार दिलाउने सन्दर्भमा संघीयता परिस्कृत स्वरुप हो । तर हाम्रो संघीयता बोझिलो छ । हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ । डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म यो मुलुकमा पारदर्शिता कायम हुने स्थिति हुदैन । त्यसैले अब हामीले नेपाललाई डिजिटलाइजेसनमा लिएर जानुपर्छ ।’
उहाँले खर्चिलो र बोझिलो भएको संघीयतालाई छरितो बनाउन सांसद, मन्त्रिमण्डल, प्रदेश र स्थानीय तहहरुको संख्या समेत घटाउनुपर्ने बताउनु भयो । उहाँले सांसदको संख्या २७५ बाट २०१ मा झार्न प्रश्ताव गर्नुभयो । त्यस्तै केन्द्रिय मन्त्रिमण्डल २५ बाट १५ मा झानुपर्ने उहाँको भनाइ छ । प्रदेश संख्या एक तिहाई घटाउँदै मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रशानमन्त्री मात्र राख्नुपर्ने बताउनु भयो । राजनीतिक संरचना छरितो भएमात्र प्रशासनिक संरचनाहरु छरितो हुने बाटो खुल्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब सांसदको संख्या २७५ होइन २०१ मा झारौं । केन्द्रिय मन्त्रिमण्डलको संख्या २५ बाट १५ मा झारौं । प्रदेशको संख्या एक तिहाई घटाउँ । प्रदेशमा पनि एउटा मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रशानमन्त्री मात्र राखौं । र पालिकाहरुको संख्या पनि घटाउँ । बरु वडाको संख्या बढाउँ । यसरी हामीले खर्चिलो बनेको संघीयतालाई छरितो बनाउन सक्छौं । राजनीतिक संरचनाहरु छरितो भइसकेपछि प्रशासनिक संरचनाहरु समेत छरितो बनाउने बाटो खुल्छ । सुरक्षा संरचना पनि छरितो बनाउने बाटो खुल्छ ।’
पाल्पा भ्रमणमा रहनुभएका मन्त्री पौडेलले आईतवारदेखि शुरु भएको दोस्रो तानसेन महोत्सव एवं व्यापार मेलाको समेत उद्घाटन गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल