स्वस्तिश्री गुरुकुल आई.बी वर्ल्ड स्कुलद्वारा निःशुल्क फुटबल कार्यशाला सम्पन्न

.

काठमाडौं ।स्वस्तिश्री गुरुकुल आई.बी. वर्ल्ड स्कुलले ५ वर्षदेखि १८ वर्ष उमेर समूहका छात्रछात्राका लागि आइतबार निःशुल्क फुटबल कार्यशाला  सञ्चालन
गरेको छ। अन्तर्राष्ट्रिय विद्यालय संघ (International Schools Association) को सहकार्यमा आयोजित सो कार्यक्रम बिहान ९:०० बजे देखि ११:३० बजे सम्म विद्यालयको सानो भर्याङस्थित प्राङ्गणमा सम्पन्न भएको थियो ।

कार्यशालाको उद्देश्य युवा प्रतिभाहरूलाई उजागर गर्दै तिनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दक्ष प्रशिक्षकहरू र विशेषज्ञहरूबाट प्रशिक्षण दिने रहेको थियो। कार्यशालामा काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । प्रशिक्षार्थीहरूलाई १८ वर्षमुनि, १२ वर्षमुनि र ८ वर्षमुनिका तीन उमेर समूहमा विभाजन गरी फुटबल खेलसम्बन्धी सिप विकास कार्यशाला  सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं , राष्ट्रिय टोलीका पुर्व गोलकिपिङ प्रशिक्षक शैलेस कर्माचार्य, सातदोबाटो सोर्ह वर्षमुनिका युवा क्लबका प्रमुख प्रशिक्षक उज्ज्वल श्रेष्ठ, नेपाली राष्ट्रिय महिला टोलीकी फिजियोथेरापिष्ट नवीना श्रेष्ठ, फुटबलका ANFA रेफ्री निश्चल गुरुङ्, फुटबल प्रशिक्षक सौरभ महर्जन र स्वस्तिश्री गुरुकुल विद्यालयका फुटबल प्रशिक्षक पुष्प विष्ट ( ज्वाला) ले गोलकिपिङ, ट्याक्टिकल थ्योरी, शारीरिक तन्दुरुस्ती, पोषण तथा खेलकुद चोटसम्बन्धी चेतना, रेफ्री र फिजियोथेरापी लगायतका विषयहरूमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमको समापन मिडिया तथा सञ्चार निर्देशक चिराग वाङ्देलले  सञ्चालन गर्नुभएको सो समारोहमा विद्यालयकी प्राचार्य नेहा के.सी. ले खेलकुद क्षेत्रको प्रवर्धनका लागि विद्यालयले सधैँ सहयोग गर्ने बताउनुभयो । विद्यालय प्रवन्ध निर्देशक मिना महर्जनले प्रशिक्षकलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रशिक्षणमा उत्कृष्ट दस प्रशिक्षार्थीलाई स्वस्तिश्री स्पोर्ट्स एकेडेमीमा २ महिना निःशुल्क प्रशिक्षण प्रदान गरिने घोषणा समेत विद्यालयले गरेको छ ।