राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धु्रवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो । उहाँले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप लगाउनु भयो । उहाँले सरकार आफैंले नियोजित रुपमा घटना घटाएर पार्टीका नेताहरुमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तीनकुने घटनामा सबै खालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो । हामीले त्यही भनिरहेका छौं । यो सरकारले नियोजित ढंगले गरेको छ । युवा संघहरु जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो ? पार्टी आफ्नो कार्यक्रमहरु गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन नि । अब त्यसमा पनि अस्पतालका बिरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर संगठित अपराध, राष्ट्रद्रोहका मुद्दाहरु लगाउने काम गरिँदै छ । यो सबै सुरक्षाकर्मीले गर्दैन । यो सबैले निर्देशित हो ।’
देशमा अशान्ती निम्त्याउनको लागि सरकार लागि परेको समेत उहाँको आरोप छ । —न्युज एजेन्सी नेपाल