विश्वकप यु–१९ एशिया छनोटमा नेपालको सुखद् शुरुवात

.

काठमाडौं, चैत ३१– नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा आईतवार संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै सुखद् शुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आईतवार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई डिएल मेथडअनुसार ५ रनले हराएको हो । यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, युएई, ओमान र हङकङ सम्मिलित यु–१९ विश्वकप एशिया छनोटमा सुुखद् शुरुवात गरेको छ । छनोटको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकप खेल्नेछ । अघिल्लो संस्करणको छनोटमा विजेता बन्दै नेपालले विश्वकप खेलेको थियो । यसपल्ट पनि नेपालले सुखद् शुरुवात गरेको छ । अफगानिस्तानले पनि आईतवार नै ओमानमाथि ८ विकेटको जित निकाल्दै सुखद् शुरुवात गरेको छ ।
नेपाल र युएईबीचको खेलमा मैदानमा हिलो भएपछि टस गर्न ढलाई हुँदा ४० ओभरमा छोट्याएको थियो । कप्तान नरेन भट्टको अर्धशतक प्रेरित नेपालले २०१ रनको लक्ष्य दिएको थियो । जवाफी लक्ष्य पछ्याएको युएई ३६औं ओभरमा १७१÷७ को अवस्थामा हुँदा खेलमा वर्षा भयो । त्यसपछि खेलका अम्पायरले खराब प्रकाशका कारण थप खेल हुन नसक्ने निर्णय दिन लागेका थिए । तर युएईका खेलाडीले विरोध जनाएपछि लामो समय पर्खाइपछि मात्र अम्पायरले खराब प्रकाशका कारण खेल हुन नसक्ने निर्णय दिए र नेपालले साँघुरो अन्तरले जित निकाल्यो । त्योभन्दा केही ओभरदेखि नै नेपाल र युएईबीच डिएल मेथडअनुरूप अगाडि रहन प्रतिष्पर्धा चलिरहेको थियो । अन्तत् त्यसमा नेपालले सफलता पाएको हो ।
युएइका यायिन किरण राईले अविजित शतक प्रहार गरे पनि वर्षा वाधक हुँदा आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । उनी र उदीश सुरी क्रिजमा थिए । युएईलाई अन्तिम २४ बलमा ३० रन आवश्यक थियो । पूरै ओभर हुँदा उत्कृष्ट ब्याटिङ गरिरहेका किरण नेपालका लागि घातक हुन सक्थे । तीन मात्र विकेट रहेकाले नेपाली बलरले पनि खेल आफ्नो पक्षमा पार्न सक्ने अवस्था थियो । तर, खेल हुन सकेन । त्यसअघि नेपालले पहिलो ओभरमा नै युएईका ओपनरद्वय आयन मिसबाह ४ र अक्षत राईलाई शून्यमा आउट गर्दै राम्रो सुरुआत गरेको थियो । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका किरणले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ सम्हाले ।
किरणले चौथो विकेटका लागि मोहमद रायन खानसँग ७५ रनको साझेदारी गरे । रायन खान ५३ बलमा ३५ रन जोडेर आउट भए । त्यसपछि भने नेपाली बलरले अर्को छेउबाट विकेट लिँदै साझेदारी बन्न दिएनन् । करण धिमानले १५ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । तर, किरण राईले ९६ बलमा आठ चौका र पाँच छक्का हिर्काउँदै शतकीय इनिङ खेले । नेपालको बलिङमा सन्तोष यादव र अशोक धामीले समान दुई विकेट लिँदा अभिशेक तिवारी र नरेन भट्टको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो ।
नेपालका लागि नरेनले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ७५ बलमा सात चौका हिर्काए । दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए । युएईको बलिङमा युदिश सुरीले तीन, युग शर्मा र शलोम डी सुजाले समान दुई तथा अली अस्घर शम्स र करण धिमनले समान एक विकेट लिए । नेपालले दोस्रो खेल ओमानसँग सोमवार नै खेल्नेछ । —न्युज एजेन्सी नेपाल