नाइमाको औपचारिक घोषणा, आगामी साउनमा ‘नेपाल मोबिलिटी सो’ आयोजना गरिने

.

नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच “मोबिलिटीमार्फत विकासको सशक्तीकरण” भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो । अटोमोबाइल्स व्यवसायीको छाता सङ्गठन नाडा टुक्रिएपछि नाइमाको घोषणा गरिएको हो । नाइमाको घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले अटो मोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा स्थापना गरिएको बताउनु भयो । यस्तै, व्यवसायी सुहृदराज घिमिरेले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रको साझा आवाजको परिमाण नाइमा स्थापना हुन पुगेको जिकिर गर्नुभयो ।
व्यवसायी घिमिरेले भन्नुभयो, “पहिले त हामीले सोचमै काम गर्नुपर्नेछ । त्यसपछि टिम बनाएर सबैसँग सहकार्य गर्नुपर्नेछ । यो क्षेत्रमा भएकाहरूको एउटा कलेक्टिभ भ्वाइस परिमाण आज नाइमा दर्ता हुन पुग्यो र लञ्च हुन पुग्यो ।”

उक्त कार्यक्रममार्फत संस्थापक बोर्ड सदस्यहरूको घोषणा गरिएको छ । बोर्ड सदस्यमा सुहृदराज घिमिरे,  शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा,  निराकर श्रेष्ठ, यमुना श्रेष्ठ,  निकुञ्ज अग्रवाल,  हेमन्त गोल्छा र उदयन काबरा रहनुभएको छ । नाइमाले आगामी साउन २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी सो २०२५’ आयोजना गर्ने समेत घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी गौरव सारडालाई दिइएको छ । – न्युज एजेन्सी नेपाल