द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

.

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताउनु भयो । उहाँले माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताउनु भयो । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘द्वन्द्व पीडित दाजुभाई दिदीबहिनीहरुलाई म भन्न चाहन्छु । शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा वा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दा आयोगले काम गरेर निष्कर्ष निकालेर यसलाई अन्तिम नियकर्षमा पु¥याउँदा पीडितहरुलाई न्याय दिएर यो ट्रान्जिसनल जस्टिकको समय भनिन्छ यसलाई  यो संक्रमणकालीन न्यायको समय भनिन्छ । संक्रमणकालीन या द्वन्द्वको अन्त्य गर्ने समयको कुनै पीडा दिने समय होइन, यो न्याय दिने कुरा हो । संक्रमणकालीन न्यायको कुरा हो, त्यसकारण  तपाईंहरुलाई न्याय दिनका लागि आयोगहरु बन्ने र तपाईहरुलाई न्याय दिइन्छ म तपाईहरुलाई र देशभर रहेका द्वन्द्व पीडितहरुलाई भन्न चाहन्छु । द्वन्द्व पीडितलाई न्याय दिने  यो नै उद्देश्य हो । अहिलेका आयोगहरुको न्याय दिने नै काम हुने गरेका छन् । र न्याय दिइन्छ ।  द्वन्द्वकै समबन्धमा केही दिनअघि मैले भनेको थिएँ एभरेष्ट होटलमा आयोजित कार्यक्रममा कि  अमानवीय, चरम अपराधहरु त्यस्ता अपराधहरु जघन्य अपराधहरु त्यस्ता कुरालाई छुट हुँदैन । त्यस्तालाई माफी दिन सकिँदैन । त्यस्तो कुराहरुको सन्दर्भमा कारबाहीको विषय बन्छ । र अरु कुराहरु जुन माफी दिन  सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ । र पीडितहरुलाई परिपुरण जस्ता कुराहरुबाट सम्बोधन हुने कुराहरु पनि हुनेछन् ।’

प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरुको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले लागिपरेको बताउनु भयो । द्वन्द्व पीडितको न्यायका लागि सबै दलहरुको साथ रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल