प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गर्नुभएको छ ।
सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताउनु भयो । उहाँले त्यसै आउने ऐनलाई हामीले ल्यायौं भन्नको लागि दुःख गरिरहनुनपर्ने बताउनु भयो । उहाँले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्य तरबार चलाइएको भन्दै यस सम्बन्धमा गम्भिर भएर सोच्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरुले ऐन लिएर जान्छौं भन्नुभएको छ । एउटा ऐन बोक्न यत्रोबिघ्न मान्छे चाहिन्छ ? ऐन त संसदीय उपसमितिमा छलफल भइरहेको छ । समितिमा आउँछ । त्यसपछि मुल हाउसमा आएर संसदबाट पारित हुन्छ । अहिलेसम्म जतिपनि ऐन आएका छन् सडकमा मान्छे आएरै आएका हुन् ? त्यसै आउने ऐनलाई हामीले ऐन ल्यायौं भन्ने पार्नको लागि यत्रो दुःख किन गर्नुपर्यो ? तपाईहरु हुनुहुन्छ र त ऐन बन्ने हो नि । तपाईहरु नभए ऐन कसरि बन्छ । त्यसकारण हामीले ऐन ल्यायौं भन्नको लागि यत्रो दुःख गर्नुपर्दैन ? म अहिले पनि उहाँहरुलाई आग्रह गर्न चाहान्छु, अहिले विद्यार्थी भर्नाको समय छ । कृपया जानुस् भर्ना गर्नुस् । एसईईमा ५२ प्रतिशत फेल हुने भनेको त कलिलैमा उहाँहरुको भविष्यमाथि तरबार चलाइएजस्तो भयो नि । अब एसईईको औचित्य पनि देखिइरहेको छैन । कक्षा १२ लाई एसएलसी भनेपनि फेरि एसईई भनेर किन राख्या ? ’
हाल सरकारको नेतृत्व गरिरहेका दलहरुले नै टे«ड युनियनहरुको आन्दोलनलाई बचाएको समेत प्रधानमन्त्री ओलीको दाबी छ । —न्युज एजेन्सी नेपाल