मन्त्रीपरिषद्को निर्णय सकिनु १८ मिनेटअघि नै कुलमान हटाएको समाचार आयोः मन्त्री गुरुङ

.

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडी नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताउनु भयो । उहाँले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताउनु भयो । उहाँले अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? र यसलाई कारबाहीको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत बताउनु भयो । उहाँले मन्त्रीपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रैको व्यङ्ग्य गरेको बताउनु भयो । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पु¥याउने मन्त्रीलाई आफूले चिनेको समेत धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “क्याबिनेटको बैठक चलिरहेको छ, कुलमान जीलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अगाडी नै आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिव बाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरे, कसले भन्यो ? कि तपाईँले भन्नुभयो कि ? कि तपाइका माननीय मन्त्रीज्युहरूले भन्नुभयो कि ? कि मुख्यसचिवले भन्नुभयो ? कसैले त भन्यो ? प्रवक्ता तल गएर माइकको अगाडी अभिनुभन्दा अगाडी नै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो । को छ यहाँ मन्त्री अनलाइनको समाचारदाता भन्नुप¥यो ? हैन भने, प्रवक्ताले नभनी किन भनेको ? अब यो क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुप¥यो । कारबाहीको विषय बनाउनुप¥यो । अब क्याबिनेटको बैठकमा आउँदा खेरी मोबाइल बाहिर राखेर आउने । प्रवक्ताले बाहेक कसैले नभन्ने । यसरी भगवान् भरोस चलेको मुलुक के । त्यसको व्यवस्थापन त हामी आफैले गर्नुपर्छ । त्यो दिन अरू दुईवटा विषय थियो, आउन पाएको छैन गाडीबाट झर्ने बित्तिकै मन्त्रीज्यु कुलमान घिसिङलाई हटाएको हो ? कसरी थाहा पाउनुभयो तपाईंहरूले कुलमानले भनेको हो भने मैले । यो कुरा यति भाइरल भयो कि तपाईंले यसको नभन्नुपथ्र्यो । मैले त उसले पहिले नै सूचना थाहा पाइसकेको भनेर प्रश्न व्यङ्ग्य गरेको मात्रै । अहिले मलाइ थाहा पनि छ, त्यो मन्त्री को रहेछ भन्ने ।” 

मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल