कानूनी उल्झनहरु समाधान नगरी मेटालाई दर्ता हुन चेतावनी मात्र दिने काम लाजमर्दोः रास्वपा

.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपालमा मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको माउ कम्पनी) दर्ता हुनैपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो बताउनुभएको हो । पछिल्लो समय मेटा नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको कारण नेपालमा दर्ता गराउनु अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँले मेटामात्र नभई सबै विदेशी कम्पनीहरुले नेपालको कानूनलाई पालना गर्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको उल्लेख गर्नुभयो । उहाँले कानूनमा भएका उल्झनहरुलाई समाधान नगरी मेटालाई निरन्तर चेतावनी मात्र दिनु समेत लाजमर्दो विषय भएको बताउनु भयो । उहाँले मेटाले अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ ? भन्दै प्रश्न समेत गर्नुभयो
उहाँले भन्नुभयो, ‘हाल फेसबुक बन्द हुने कि नहुने भन्ने चर्चा अलि व्यापक छ । तर मुख्य कुरा प्रष्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ । आज फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको छ । त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ । विदेशी कम्पनीहरुले नेपालको कानूनलाई पालना गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर हाम्रो कानूनमा रहेका उल्झनहरु समाधान नगरी चेतावनी मात्र दिने हो भने त्यो लाजमर्दो हुन्छ । मेटाले अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ ? यसको गहिरो छानविन होस् । मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता होइन । यो त नेपालको डिजिटल भविष्यबारे अन्तरराष्ट्रिय समूदायलाई दिने एउटा सन्देश हो ।’
उहाँले मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता मात्र नभई नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय समुदायलाई दिने सन्देश समेत भएकोले सरकारले कुटनीतिक कौशलता प्रश्तुत गर्न जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल