वर्तमान सरकारले एउटै नराम्रो काम गरेको छैनः प्रधानमन्त्री ओली

.

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा एमालेको बद्नाम गर्ने काम भइरहेको बताउनुभएको हो । उहाँले एमाले, एमालेको नेतृत्व, विचार र राम्रा कामहरुको बिरोध भइरहेको बताउनु भयो । उहाँले सरकारले अहिले के नराम्रो काम गरेको छ र यत्रो बिरोध गरेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बर्बाद पारेको अर्थतन्त्र र लोकतन्त्रलाई ठिक दिशामा लैजाने काम अहिलेको सरकारले गरिरहेको बताउनु भयो । उहाँले देशका लागि काम गर्दा देश नै बर्बाद बनाएझैँ बिरोध भइरहेको बताउनु भयो । देश विकास, सुशासनको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी छ । अहिलेको सरकारले गरेका कामहरु आफू नेतृत्वमा हुँदा गर्न नसकेपनि छिर्के लगाएर बद्नाम गराउने काममा लागेको बताउनु भयो । नेपालमा राजनीतिका झेली खेलाडीहरु रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो आन्दोलनलाई पनि समाप्त पार्नका लागि पार्टीको बद्नाम गर्ने, लिडरसिपको बद्नाम गर्ने, विचारको बद्नाम गर्ने, हाम्रा कामहरुको कसरी आलोचना गर्न सकिन्छ, त्यो गर्ने । अहिले सरकारले के गरेको छ र ? सरकारले केही त गरेको छैन । कुनै नराम्रो काम एउटै गरेको छैन । तर यत्रो बिरोध, मानिलिऔँ अहिलेको सरकारले देश नै बर्बाद गर्नलाग्यो की जस्तो । बर्बाद पारेको, अर्थतन्त्र बर्बाद पारेको, लोकतन्त्र त्यसलाई ठिक ट्रयाकमा फर्काउँदैछौँ । तर बिरोध यसरी भएको छ । मानौँ हामीले ठूलो जघन्य अपराध देशका बिरुद्ध ग¥यौँ । विकास होइन त्यसको विपरित चलेका छौँ जस्तो । हामी विकासको बाटोमा अगाडि चलेका छौँ । सुशासनको बाटोलाई अगाडि बढाएका छौँ । बिरोध यसरी भइरहेको छ की मानौँ हामी देश बर्बाद गरिरहेका छौँ । यसै गरी हाम्रा बिरोधीहरुसँग सही काममा दौडिएर हामीलाई पराजित गर्ने र हामी भन्दा अगाडि पुग्ने सामथ्र्य उनीहरुसँग छैन । छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने धकेल्ने त्यसरी झेली खेलाडीहरु अहिले हामी नेपालमा त्यस्तै भोगिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने, धकेल्ने खेलाडीहरु आफ्नो पछाडि लागिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल