नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकमा ठूलो परिवर्तन भएको बताउनुभएको छ ।
विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको छ । उहाँले मुलुक गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा रहेको कुरा नै मुख्य सकारात्मक रहेको बताउनु भयो । उहाँले वीपी कोइरालाले चिन्तन गरेको समाजवादमा उन्मुख संविधान रहेको बताउनु भयो । उहाँले समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा रहेको बताउँदै उहाँले बाटो नबिराएको धारणा राख्नुभयो । उहाँले राजनीतिको आफ्नै कोर्स हुने बताउँदै सोही कोर्सअनुसार मुलुकमा ठूलो परिवर्तन भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले सबैभन्दा पोजेटिभ गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी, समानुपातिक संविधानमा छौँ । यो संविधान समाजवाद उन्मुख वीपी कोइरालाले जुन समाजवादको चिन्तन गर्नुभएको छ, आखिर समाजवाद उन्मुख समाजवाद बनाउने बाटोमा हामी छौँ । हामीले बाटो बिराएका छैनौँ । धेरै ठूलो परिवर्तन भएको छ । राजनीतिको आफ्नो कोर्स हुन्छ । त्यो कोर्सबाट देशको परिस्थितिअनुसार बारम्बार हाम्रो कम्प्रमाइज भएको छ, ठूलो परिवर्तन भएको छ ।”
उहाँले देश बर्बाद भयो भन्ने भाष्य बनाइएको भन्दै त्यो गलत रहेको बताउनु भयो । उहाँले आज प्रत्येक नेपाली मालिक भएको बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपाली संसारमा शिर उठाएको जिकिर गर्नुभयो । —न्य्ुज एजेन्सी नेपाल