रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत

.

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताउनुभएको छ ।

बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लिबजार कारागार पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताउनु भयो । उहाँले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको बताउनु भयो । उहाँले यस्तो व्यवहारर्लाइ परास्त गर्न पनि पार्टी एकता गरेरै छोड्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरु कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नैै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो । यसलाई परास्त गर्न भनेपनि पार्टी एकीकरण गरेरै छोड्छौँ । हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन् । एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्नवाचक चिन्ह रहनेछ । उहाँलाई सिधै डिल्लीबजार कारागारमा ल्याइएको छ । आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको छ ।’

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज पार्टी एकता गर्ने कार्यक्रम थियो । प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु पहिला नै संरक्षक चौधरीलाई पक्राउ गरेको हो । पक्राउपछि अहिले चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको छ । —न्युज एजेन्सी नेपाल