वागमती प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ताहरूको एकदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ ।
स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहजकर्ताहरूको ज्ञान, सीप र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा कानूनी साक्षरता, वैकल्पिक विवाद समाधान प्रणाली र स्थानीय न्यायिक समितिका कार्यप्रणालीबारे प्रशिक्षण गरिने बताइएको छ । तालिको उद्घाटन सत्रमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले पालिकाको न्यायिक निरुपणमा सहजिकरण गर्न स्थानीय सहजकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले स्थानीय तहसँग न्यायिक सुधारका काममा प्रदेश सरकार समन्वय गर्न सधैं तत्पर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय मेलामिलापकर्ता हरेक टोल र समाजमा आवश्यक पर्ने उल्लेख समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘न्यायिक सहजकर्ता भन्ने बित्तिकै पालिकासँग सहजिकरण गर्ने हो । कानूनसँग सहकार्य गर्नको लागि प्रदेश सरकार सधैं समन्वय गर्न तयार नै रहन्छ । यो तालिम पश्चात जहाँ गएपनि तपाईहरु खट्न सक्ने र र काम गर्न सक्ने भएर जानुहोस्, शुभकामना । अहिलेको समयमा मेलमिलापकर्ता हरेक समाज र हरेक टोलमा चाहिने बेला भइसकेको छ ।’
सहभागीहरूले तालिमबाट न्यायिक आचरण, मुद्दा व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास लिएका छन् । —न्युज एजेन्सी नेपाल