काठमाडौँ । बाजुरा जिल्लाका शैलेन्द्र उपाध्याय रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा सर्वसम्मत चयन भएका छन् । निर्धारित मितिमा निर्वाचन हुन नसकेपछि सम्पन्न सर्वदलीय सहमतिपछि उपाध्यायलाई सचिवको जिम्मेवारी दिइएको हो । विद्यार्थी हकहितमा निरन्तर सक्रिय रहेका उनी विद्यार्थीहरूबीच परिचित र लोकप्रिय छन् । उनका सहकर्मीहरू र संगठन प्रतिनिधिहरूले शैलेन्द्रको नेतृत्वमा क्याम्पसमा विद्यार्थीका मुद्दाहरू प्रभावकारी रूपमा उठ्ने र व्यवस्थापनमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन् ।
स्नातक तह चौथो वर्षमा अध्ययनरत उपाध्याय विद्यार्थी सरोकारका विषयहरूमा विगतदेखि नै सक्रिय छन् । छात्रवृत्ति, कक्षा व्यवस्थापन, शैक्षिक वातावरण, प्रशासनिक सहजता, पुस्तकालय पहुँच, इन्टरनेट सुविधा लगायतका विषयमा उनी निरन्तर आवाज उठाउँदै आएका छन् । सहज पहुँच, मिलनसार व्यवहार र सबै संगठनका विद्यार्थीहरूसँगको घनिष्ठ सम्बन्धका कारण उनी सचिव पदका लागि सबैको साझा उम्मेदवार बनेका थिए ।
उनको नेतृत्वमा विद्यार्थी र प्रशासनबीचको दूरी घट्ने, नियमित संवाद हुने र शैक्षिक तथा भौतिक पूर्वाधारमा सुधारको पहल हुने विश्वास गरिएको छ । शैलेन्द्र भन्छन्, “सचिव बन्नु केवल पद सम्हाल्नु होइन, यो जिम्मेवारी हो । विद्यार्थीका स–साना समस्यामा म सधैं सक्रिय छु । अब संस्थागत रूपमा सुधार ल्याउनेतर्फ केन्द्रित हुनेछु ।”
शैलेन्द्रले पहिलो प्राथमिकतामा अध्ययन वातावरण सुधार, प्रशासनिक कामको सहजता, कक्षा नियमितता, पुस्तकालय र इन्टरनेट पहुँच, छात्रवृत्ति प्रक्रिया पारदर्शी बनाउने लगायतका विषय समेट्ने बताएका छन् । उनले क्याम्पसमा सबै विद्यार्थीलाई नेतृत्व प्रक्रियामा समेट्दै स्ववियुलाई समावेशी र पारदर्शी बनाउने अठोट व्यक्त गरेका छन् ।
उनको भनाइ छ, ‘राजनीतिक आस्था जे–जसको भए पनि म सबै विद्यार्थीको साझा प्रतिनिधि हुँ । विद्यार्थी सरोकारका विषयमा म कहिल्यै सम्झौता गर्ने छैन ।’
निर्वाचन हुन नसकेको अवस्थामा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र विद्यार्थी समूहको सर्वदलीय बैठक बसेको थियो । सो बैठकले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गर्दै स्ववियु गठन गरेको हो ।
यसअनुसार स्ववियुको सभापतिमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ, सहसचिवमा आरआर युथ फोर्सका सुरेश रोकाया र कोषाध्यक्षमा अनेरास्ववियुकी अम्बिका अधिकारी चयन भएका छन् ।
शैलेन्द्रको चयनले क्याम्पसमा राजनीतिक सहकार्यको नयाँ अभ्यास सुरु गरेको छ । २०३७ साल यता आरआर क्याम्पसमा अनेरास्ववियु बाहेक अन्य संगठनले प्रत्यक्ष जित निकाल्न सकेका थिएनन् । तर यस पटक सबै संगठनको सहभागिता र सहमतिको आधारमा नेतृत्व चयन हुनु क्याम्पस राजनीति र विद्यार्थी सरोकारमा सकारात्मक अभ्यासको संकेतका रूपमा लिइएको छ ।
समाजवादी विद्यार्थी युनियनका एक प्रतिनिधिका अनुसार, “शैलेन्द्र सबै संगठनसँगको समन्वय, सहकार्य र विद्यार्थीप्रति उत्तरदायी व्यवहारका कारण सबैको रोजाइ बने । उनले विगतदेखि नै सबैको समस्या साझा रूपमा उठाउँदै आएका छन् ।”
क्याम्पसभित्र शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधारलगायतका विषयमा विद्यार्थीहरूले भोग्दै आएका समस्या समाधान गर्न नयाँ स्ववियु टोलीले समन्वित रूपमा काम गर्ने बताइएको छ । शैलेन्द्रका अनुसार अबको कार्यकालमा विद्यार्थी सरोकारका मुद्दालाई योजनाबद्ध र संस्थागत ढंगबाट अघि बढाइनेछ ।
उनले भने, ‘छात्रवृत्ति, अनलाइन कक्षा, कोर्स सामग्री, परीक्षा व्यवस्थापन, स्टाफको व्यवहार, पुस्तकालय सुविधा, प्रशासनको पारदर्शिता—यी सबै विषय मेरा प्रमुख कार्यसूचीभित्र छन् । यिनमा सशक्त हस्तक्षेप गर्दै विद्यार्थीको आवाज बन्ने छु ।’
शैलेन्द्रको नेतृत्वमा विद्यार्थी राजनीति एक पक्षीय होइन, समावेशी, सहकार्यमा आधारित र साझा प्रयासमा केन्द्रित हुने विश्वास गरिएको छ । विद्यार्थीको अधिकार, क्याम्पसको विकास र संगठनबीचको सन्तुलन मिलाउँदै नयाँ अभ्यासको थालनी गर्न उनी सक्षम हुने अपेक्षा सबै पक्षको रहेको छ ।