राष्ट्रिय सभाका सांसदहरुले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
आईतवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले भारतको किट विश्वविद्यालय र बेलायतमा अध्ययनरत छात्रको मृत्युका घटनाबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले भारतको कलिंगास्थित किट विश्वविद्यालय अध्ययनरत छात्राको मृत्यु तथा बेलायतमा मृत भेटिएका एक व्यक्तिको कुटनीतिक पहलको माध्यमद्वारा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले दोषीलाई कारबाहीको पहल गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । नेपाली विद्यार्थी अध्ययनरत उक्त कलेजहरुमा पूर्ण सुरक्षाको प्रत्याभुतिका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा हाहको मृत्यु प्रकरणपछि नेपाल सरकारले समयमै चारो जनाएको बुझिएको छ । परारष्ट्र मन्त्रालयले किटमा अभ्ययनरत विद्यार्थीको सुरक्षाका लागि समन्वय पनि गरेको जनाएको छ । किटमा करिव ४० हजार विद्यार्थी अध्ययनरत रहेकोमा नेपाली विद्यार्थीको संख्या करिव १२ सय भएको बुझिएको छ । त्यस्तै लण्डनमा मृत भेटिएका सुशासनको लण्डन प्रहरीबाट अझै अनुसन्धान जारी रहेको बताइएको छ । यी दुबै देशमा भएका दुवै घटनाका कुटनीतिक पहलको माध्यमबाट सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको पहल, पीडितलाई उचित क्षतिपूर्तिको पहल तथा उक्त कलेजहरुमा विद्यार्थीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गर्न विशेष समिति गठन गर्न नेपाल सरकारसँग माग गर्नुभयो । उहाँले स्थानीय विद्यार्थीहरुले प्रतिष्पर्धा गर्न नसकेपछि राम्रो अध्ययन गर्ने विदेशी विद्यार्थीलाई बेपत्ता पार्ने तथा हत्या गर्नेसम्मका घटना उक्त कलेजमा हुने गरेको दाबी गर्नुभयो । अध्ययन र उमेरको आधारमा नेपाल सरकारले एनओसी दिने वा नदिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भारतको उडिसामा रहेको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको चोथो तलाको १११ नम्बरको कोठामा मृत भेटिएकी छन् र त्यसको छानबिन भइरहेको छ । त्यसलाई शिल गरेर छानबिनको नाटक गरिएको छ र त्यहाँ के भएको हो ? किन यस्ता घटना बारम्बार भइरहेका छन् ? र त्यही ठाउँमा यस्ता घटना घटिरहेका छन् भन्ने नेपाल सरकारले विशेष खोजी र समिति बनाएर जाँचबुझ गर्नका लागि पनि म अनुरोध गर्दछु । उमेर समूह हेरेर पढाइ हेरेर विद्यार्थीहरुलाई कहाँको एनओसी दिने वा नदिने भन्ने पनि नेपाल सरकारले भन्नु पर्छ कि भन्ने कुरा पनि म राख्न चाहन्छु । सचेत गराउन चाहन्छु । यस्ता विभिन्न ठाउँमा अध्ययनरत विद्यार्थीहरु हुन्छन्, राम्रो अध्ययरत विद्याथीएहरु जो कलेजमा फ्रस्ट भइरहेका हुनछन् त्यहाँको लोकल विद्यार्थीले जित्न नसकेको अवस्थामा पनि हत्या हुने, पानीमा गाड्न, कुलाखोल्साहरुमा गाडिदिने बेपत्ता पारिदिने यस्ता घटनाहरु बारम्बार भइराखेका थिए ।’
नेकपा एमालेकी सांसद सुमित्रा बिसीले किट विश्वविद्यालयमा मृत्यु भएकी नेपाली छात्राबारे सत्य तथ्त्य छानबिनका लागि भइरहेको पहललाई तिब्रताका साथ अगाडि बढाउनु सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँ पीडितले न्याय पाउनुपर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षा प्राप्त गरी उज्जल भविष्य निर्माण गर्न गएका छात्राहरुको रहस्मय मृत्यु हुनु दुःखद् भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसप्रकारका घटना दोहोरिन नदिन सचेत रहँदै पहल लिन सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । र भविष्य उज्जल बनाउन गएका चेलीहरु पटक पटक दिवंगत हुन पर्दा यसप्रति नेपाल सरकारको गम्भीर ध्यान जाओस् र जुन पहल गरिरहेको छ यो पहल अझै तीव्र रुपले अघि बढोस् र सत्य तथ्य छानबिन गरी पीडितले न्याय पाओस् भन्ने भनाइ राख्न चाहन्छु ।’
नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले किट विश्वविद्यालयमा हुने गरेको मृत्युका घटनामा विद्यार्थीलाई दोषी देखाएर त्यहाँको प्रशासन उम्किने गरेको आरोप लगाउनु भयो । उहाँले विद्यार्थीको मृत्युलाई प्रेम असफल भएर वा मानसिक तनाव व्यवस्थापन गर्न नसकेर मृत्यु भएको भन्ने विश्वविद्यालयको भनाइ मान्न नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उही ब्याच उही होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । हलुङ्गो तरिकाले भन्ने गरिन्छ कि प्रेम सम्बन्ध असफल भएर वा मानसिक तनाव झेल्न नसकेर युवाहरु आत्महत्या गर्ने गर्छन भनेर सजिलैसँ कसैको मृत्युलाई लिने गरिन्छ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु तीन महिनाको बीचमा एउटै युनिभर्सिटी किटमा दुई जना नेपाली छोरीले ज्यान गुमाएका छन् । त्यसलाई यति सजिलै आत्महत्या मान्ने ? म कुनैपनि हालतले आत्महत्या मान्न तयार छैन । त्यो युनिभरसिटीमा केही न केही समस्या छ जसको कारणले विद्यार्थीहरुले आत्महत्या गर्ने गरेका छन् । श्रृङ्खलावद्ध आत्महत्या हुने गरेको छ, यसको दोष विद्यार्थीमाथि थोपरेर त्यहाँको प्रशासन उम्किने गरेको छ ।
राष्ट्रिय सभा सदस्यहरुले किट कजेलमा नेपाली दुई छात्राहरुको रहस्मय मृत्युबारे यथार्थ छानबिन गरी संसदमार्फत जानकारी दिन माग गरेका छन् । –न्युज एजेन्सी नेपाल