बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छः पूर्वअर्थमन्त्री कार्की

.

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वअर्थमन्त्री कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको भुमिका स्पष्ट नभएको भन्ने गुनासो सुनिएको समेत बताउनु भयो । उहाँले राष्ट्र बैंकको भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको बताउनु भयो । उहाँले जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानीको अधिकार प्रदान गर्न र डिजिटल बैंकिङको कानुनी आधार तयार गर्न नीतिगत सुधारको खाँचो रहेको औँल्याउनु भयो । उहाँले यी विषयहरूमा विज्ञहरूबाट सुझाव प्राप्त भएमा छलफल सहज हुने धारणा समेत राख्नुभयो । यस्तै, उहाँले साइबर सुरक्षा नीति र आपतकालिन पुनस्र्थापना नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउन विज्ञहरूको रायको अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले सुन्नमा आउँछ, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक नै हो । यसको भुमिका स्पष्ट छैन भन्ने पनि सुन्नमा आउँछ । यदि स्पष्ट छैन भने स्पष्ट गर्न र उसको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको हिसाबमा केही सुझाव छ । जोखिम व्यवस्थापन प्रणाली कमजोर छैन तर, अझ यसलाई सुदृढ गर्नको निम्ति जोखिम व्यवस्थापन प्रणालीलाई कसरी हामीले कमजोर हुनुबाट बचाउन सक्छौँ, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानी गर्ने अधिकार प्रदान गर्नलाई नीतिगत रूपमा के के कुराहरूको आवश्यकता छ, डिजिटल बैंकको पनि कुरा छ, यसबारे स्पष्ट कानुनी आधार कस्तो प्रदान गर्न सकिन्छ, साइबर सुरक्षा नीति र आपतकालिन पुनस्र्थापना नीतिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउनको निमित्त के कस्ता सुधारहरू आवश्यक छन् । यी कुराहरू विज्ञहरूबाट आयो भने छलफल गर्न सहज हुन्छ भन्ने विश्वास छ ।”  

उहाँले अन्य देशका प्रचलनहरूलाई पनि ध्यानमा राखेर गम्भीरताका साथ बहस गरी वित्तीय प्रणालीलाई जिम्मेवार र जोखिम मुक्त बनाउनुपर्नेमा समेत जोड दिनुभयो । – न्युज एजेन्सी नेपाल