काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।
बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा जल सम्बन्धी विभिन्न क्षेत्रका विज्ञहरुसँग पानीको संरक्षणको विषयमा छलफल गर्दै पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निर्णयहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको हो । उहाँले सरकारले पानी संरक्षण गर्ने निर्णय गर्ने तर कार्यान्वयनमा समस्या भएको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले पानीको संरक्षणको लागि पाइला पाइलामा काम गर्न समस्या देखिएको भन्दै तल्लो तहबाट नै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले काठमाडौं उपत्यकाको भुमिगत पानी संरक्षण गर्न सके मात्रै पनि काठमाडौंमा पानीको अभाव कम हुने बताउनु भयो । अहिले नेपालमा पानीको प्रशस्त श्रोत हुँदाहुँदै पनि अन्य श्रोतको भर पर्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले पानी संरक्षण कार्यान्वयन गर्ने विषय सरकारको मात्रै नभएर जनसमुदाय पनि लाग्नुपर्ने बताउनुभयो ।