स्थानीय श्रोत साधनको प्रयोग गरेर घर बनाऔँः उपप्रधानमन्त्री सिंह

.

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिका साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताउनु भयो । उहाँले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताउनु भयो । आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर गर्नुभयो । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामीले व्यवस्थित आवास बनाउँदा कस्तो हुनुप¥यो भन्दा बनाउनका लागि मात्रै बनाएर आवासमा मान्छेहरु बस्न अहिलेको जमानामा बस्न जाँदैनन् । यो कुरा यसअघि नेपाल सरकारले बनाएका भवनहरुबाट पनि हामीले लेसन लर्न गर्नुपर्छ । हामीले जग्गा विकास पनि गर्नुछ, जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास हुनुपर्छ । खालि आवास बनाएर केही गर्नै नसक्ने गरी बनाएर त भएन नि । हरेक मानवले आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै हामीले राम्रो गर्नसक्छौँ । जुन ठाउँमा,जुन जिल्लामा आवासहरु बनाउँछौँ, त्यहाँको क्लाइमेटअनुसारको बिल्डिङ मेटिरियल्सहरु हाम्रा परापूर्वकालदेखि प्रयोग हुँदै आएका स्थानीय ठाउँमा त्यस्ता सामग्री प्रयोग गरेर घरहरु बनाउँदा क्लाइमेटवाइज पनि राम्रो हुने भएको कारणले सजिलोका लागि खालि सिमेन्ट, रडबाटै बनाउनुपर्ने कन्सेप्ट छोडेर त्यहाँको मौसमलाई पनि ख्याल गर्नुपर्छ । त्यहाँको स्थानीय मेटिरियललाई सदुपयोग गर्न सकियो भने राम्रो गर्छ, त्यतातिर हाम्रो ध्यान जान जरुरी छ ।’

उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्युनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल