राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले सरकारको नीति तथा कार्यक्रम व्यवस्थित र नीतिकै रुपमा आएको बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा सरकराको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउने गरी नीति तथा कार्यक्रम आएको बताउनु भयो । उहाँले गणतन्त्रमाथि भइरहेका चुनौतिको प्रतिवाद गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा सम्पन्न हुने र यसै संसदको अवधिभित्र निर्माण सम्पन्न हुनेगरी विकासको ढाँचा वर्गीकरण गरिएको बताउनु भयो । विगतका सरकारले सञ्चालन गरेका कतिपय त्रुटिपूर्ण तथा स्रोत निश्चित नभएका आयोजनाहरु स्थगित गरिने नीतिमा समावेश भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको १० वर्ष पुग्न लागेकाले संविधानको आधारभुत संशोधनका लागि प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रमले समेटेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको नीति तथा कार्यक्रम असाध्यै व्यवस्थित रुपमा आएको छ । नीति नीतिकै रुपमा आएको छ । यो विवरण छैन । नीति मात्रै प्रश्तुत गरिएको छ त्यसो भएर यो नीति कार्यक्रम व्यवस्थित गछ भन्ने मलाई लाग्छ । यो नीति तथा कार्यक्रमले गणतन्त्रात्मक शासन व्यवस्थाको सुदिृढीकरण, यसको विरुद्ध हुने प्रतिगामी पुनरुत्थानवादी गतिविधिको प्रतिवाद गर्ने कुरा गरेको छ । र अहिले लोकतन्त्रलाई, गणतन्त्रलाई च्यालेन्ज गर्ने गरी आए त्यसलाई प्रतिवाद गर्नेकुरा गरेको छ । अर्को संविधानको समीक्षा र सवल पक्षको सुदृढीकरण गर्ने कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउने सहितको आधारभुत संशोधन प्रक्रिया अघि बढाउने र त्यसलाई सहमतीको आधारमा अघि बढाउने कुरा गरेको छ । यो सरकार निर्माण हुँदै गर्दादेखि एउटा बुँदामा समेटिएको विषय हो । १० वर्ष भएको छ यसको समीक्षा गर्ने बेला पनि भएको छ । विकासको ढाँचा गति र संस्कृति थेग्ने विभिन्न सरकारका पालामा घोषणा गरिएका परियोजनालाई प्राथमिकिकरण गर्ने, वर्गीकरण गरेर यसै आर्थिक वर्षमा सम्पन्न हुने र यसै संसदको अवधिभित्र सम्पन्न हुने परियोजना यकिन गर्ने स्रोत सुनिश्ति गर्ने सम्पन्न हुने सम्भावना नभएको परियोजनालाई स्थगित गर्ने र त्रुटिपूर्ण आयोजनालाई खारेज गर्ने । यो विकास निर्माणको मोडल तयार गर्ने काम भएको छ ।’
सांसद भट्टराईले स्थानीयदेखि नै नेटवर्किङ सिस्टमलाई व्यवस्थित गरेर सेवाग्राहीलाई लाइनमा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रियालाई नीति तथा कार्यक्रममा सम्बोधन गरिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल