नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । शर्माले अहिलेको तरिकाले मुलुक चल्न नसक्ने बताउँदै आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक न्यायका लागि समाजमा विद्यमान विभेद अन्त्य गर्न राज्य, समुदाय र आम नागरिकको भुमिका स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले सामाजिक र सांस्कृतिक रूपान्तरण, आर्थिक उत्पादन, रोजगारी, समृद्धि एवं सुशासनको अभियानमार्फत जनचेतना वृद्धि गर्दै सामाजिक न्याय स्थापना गर्नको लागि नीति तथा कार्यक्रम स्पष्ट र ठोस हुनुपर्ने माग राख्नुभयो । पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले गरिबी अन्त्य र रोजगारी सिर्जनाको लागि श्रमयोग्य व्यक्तिहरूलाई तालिम, स्थानीय स्रोत आधारित उत्पादन, सहुलियत ऋण, साधन स्रोतको उपयोगसम्बन्धी योजनासहितको स्पष्ट नीति हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “सामाजिक न्यायका लागि समाजमा विद्यमान विभेद (जातीय, भाषिक,सांस्कृतिक, आर्थिक, भौगोलिक, लैङ्गिक आदीहरूको) अन्त्य गर्न राज्य, समुदाय र आम नागरिकको भुमिका स्पष्ट गर्दै सामाजिक, सांस्कृतिक रूपान्तरण र आर्थिक उत्पादन, रोजगारी समृद्धि एवं सुशासनको अभियानमार्फत जनचेतना वृद्धि गर्दै सामाजिक न्याय स्थापना गर्नको लागि नीति तथा कार्यक्रम स्पष्ट र ठोस हुनुपर्ने । गरिबी अन्त्य र रोजगारी सिर्जना गर्नको लागि श्रमयोग्य व्यक्तिहरूलाई तालिम, स्थानीय श्रोत आधारित उत्पादन, रोजगारी सिर्जना गर्न बिउँ पुँजी, सहुलियत ऋण , साधन स्रोतको उपयोगसम्बन्धी योजनासहितको स्पष्ट नीति हुनुपर्ने । आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्ने अहिलेको तरिकाले चल्दैन ।”
उहाँले प्राकृतिक स्रोत तथा साधनहरूको यकिन गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । – न्युज एजेन्सी नेपाल