नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको बताउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक न्यौपानेले नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक र यथार्थ धरातलमा टेकेर ल्याइएको दाबी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा कार्यान्वयन नै गर्न नसकिने खालका लामो लामो कथा लेखेर ल्याउने विगतको परिपाटी रहेको बताउँदै उहाँले अहिलेको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको बताउनु भयो । उहाँले अहिलेको नीति तथा कार्यक्रममा अनेक फुर्काहरू नझुन्ड्याइएको र अनेक प्रकारका शब्द जालहरू नबुनिएको समेत जिकिर गर्नुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा सानो र कार्यान्वयन गर्न सकिने कुराहरू मात्रै लेखिएकोले त्यसमा आफ्नो—आफ्नो समर्थन रहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक छ । यथार्थ धरातलमा टेकेर ल्याइएको छ । धेरै सान्दर्भिक छ । हामीले विगत देखिएको बहस गर्दै आइरहेका थियौँ, नीति तथा कार्यक्रम त्यस्तो ल्याउनुपर्छ, बजेट त्यस्तो ल्याउनुपर्छ सरकारले कार्यान्वयन नै गर्न नसकिने खालको ल्याउनुहुँदैन । लामो लामो कथा लेखेर ल्याउनुहुँदैन । निबन्ध लेखेर ल्याउनुहुँदैन । अनेक खालका शब्द जालहरू बुनेर ल्याउनुहुँदैन । वास्तविकता भन्दा फरक ढङ्गले प्रश्तुत गर्नुहुँदैन । हामीले विगतदेखि भन्दै आएको त्यही हो । कार्यान्वयन गर्न सकिने जति ल्याउनुपर्छ । अहिले जनताले बोलेका कुराहरू विश्वास नगर्ने कि भइराखेको छ, जे बोलिन्छ त्यो गरिन्छ भन्ने विश्वास सरकारको तर्फबाट दिलाउन जरुरी थियो र छ । नीति तथा कार्यक्रम सरकारको आधिकारिक दस्ताबेज हो । जे लेखिएको छ त्यो कार्यान्वयन गर्न सकिन्छ भन्ने आधारमा अहिलेको सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यो निवन्ध लेखिएको छैन, यहाँ विगतमा जस्तो अनेक फुर्का झुन्डाइएको छैन । यो सुन्दा खेरी कविता जस्तो सुनिने खालको छैन । यसमा अनेक प्रकारका शब्द जालहरू बुनिएका छैनन् । यो विगतको भन्दा सानो छ र गर्न सकिने कुरा लेखिएको छ ।”
उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा उत्साह ल्याएको समेत धारणा राख्नुभयो । – न्युज एजेन्सी नेपाल
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरु लेखिएको छ, यो सान्दर्भिक छः प्रमुख सचेतक न्यौपाने