जनतालाई गणतन्त्रको सन्देश दिनेगरी सुशासन र समृद्धिको लागि साझा संकल्प गरौंः सांसद मैनाली

.

नेकपा (एमाले)का सांसद अच्युत मैनालीले लोकतान्त्रिक गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा संकल्प गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्र बगिरहेको पानी जस्तो रहेको बताउनु भयो । उहाँले काठमाडौंको बागमती काठमाडौंमा फोहोर भए पनि सर्लाहीमा पुग्दा नुहाउन योग्य हुने र सीमामा पुग्दा पिउन योग्य हुने उदाहरण दिँदै लोकतन्त्र पनि बगिरहेको पानी रहेको र आफै फिल्टर हुँदै जाने बताउनु भयो । उहाँले लोकतन्त्रमा जनताले निर्वाचनमार्फत आफ्नो जनादेश दिनसक्ने बताउँदै यो राजतन्त्रमा सम्भव छ ? भन्दै प्रश्न समेत गर्नुभयो । सांसद मैनालीले संघीय लोकतान्त्रिक गणतन्त्रले विद्रोह मै जन्मिएर अहिलेसम्म बाचिरहेकाहरूलाई बोल्ने अधिकारी दिएको समेत जिकिर गर्नुभयो । उहाँले प्राप्त लोकतान्त्रिक गणतन्त्रको जनतालाई सन्देश दिने गरी सुशासन, समृद्धि र सुखी नेपाली निर्माण गर्नको लागि राष्ट्रिय र साझा संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्र भनेको बगिरहेको पानी हो, काठमाडौंको वागमती आज यहाँ फोहोर छ, यो सर्लाही जिल्लामा पुग्दा सफा र नुहाउन योग्य हुन्छ भने बोर्डरमा पुग्दा पिउन योग्य हुन्छ । लोकतन्त्र भनेको बगिरहेको पानी जस्तो हो, जो आफैँमा फिल्टर भएर जान्छ । कोही मन परेको छैन भने जनताले निर्वाचनमा आफ्नो जनादेश दिन सक्छन्, के कथित राजतन्त्रमा यो सम्भव छ ? मलाई त लाग्छ, कोही माननीयहरू जो विद्रोह मै जन्मिनुभयो, विद्रोह मै हुर्किनुभयो, बाचिरहनुभएको छ, संघीय लोकतान्त्रिक अधिकारीले उहाँहरूलाई यो बोल्ने अधिकार दिएको छ । त्यो जी–हजुरीको युगमा उहाँहरू पुग्नुभयो भने के उहाँहरू बाच्न सक्नुहुन्छ ? यहाँहरू अक्सिजनबिनाको प्राणी जस्तो बन्नुहुन्छ । यो प्राप्त लोकतान्त्रिक गणतन्त्रको जनतालाई सन्देश दिने गरी सुशासन र समृद्धिको लागि र सुखी नेपाली निर्माण गर्नको लागि राष्ट्रिय र साझा संकल्प गरौं ।”  
उहाँले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोत र सम्पदाहरूको सदुपयोग गरेर अगाडी बढ्नुपर्ने समेत बताउनु भयो । – न्युज एजेन्सी नेपाल