नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएनः दीपक गिरी

.

नेपाली काँग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताउनुभएको हो । सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रुपमा प्रश्तुत भएका कुराहरु बदल्न सकिन्छ त ? भन्दै प्रश्न गर्नुभयो । त्यसैले नीति तथा कार्यक्रममा प्रश्तुत नभएका कुरा चर्चाको रुपमा बलियो ढंगले आएकाले अब परम्परागत शैलीलाई परिवर्तन गर्दा नै राम्रो हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत सालपनि यसरी नै नीति तथा कार्यक्रममा यसैगरी आफ्ना भनाइ राखेको थिएँ । म सरकारसँग केही गहकिला कुरा राख्न चाहन्छु । सरकारले दिएको नीति तथा कार्यक्रम एउटा सत्तापक्षको सांसदको हैसियतमा ‘स्मल इज व्युटिफूल’ भन्न सकिन्छ । तर, त्यसलाई गहिरो गरि अध्ययन गर्ने हो र विगतलाई सम्झने हो भने ‘स्मल इज व्युटिफुल अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्छ । यहाँ नीति तथा कार्यक्रम प्रश्तुत गर्ने हाम्रो परम्परागत शैली छ त्यही शैली मुताविक सम्माननीय राष्ट्रपतिज्यूले १५५ बुँदामा सम्बोधन गर्नुभएको छ । प्रायजसो बुँदाको पछाडि यसो गरिनेछ, उसो गरिनेछ प्रायः गरिनेछ । गणतन्त्र भनेपनि गणतन्त्र अघि भनेपनि भूमी चक्लाबन्दी गरिनेछ, त्यो आइरहन्छ । नेपाल सरकारले सुकुम्वासीलाई व्यवस्था गर्नेछ । गरिनेछ, गरिनेछ, गरिनेछ भन्ने हुन्छ यो स्मल इज ब्युटिफुलमा । नीति तथा कार्यक्रम सम्बोधनपछि जति बोलेपनि यस्तो भए राम्रो हुन्थ्यो, उस्तो भए राम्रो हुन्थ्यो भन्दाखेरि परिवर्तनपनि हुँदैन भन्ने सुन्छु । तर यो के हो त ? यसलाई परिवर्तन गर्न सकिँदैन ? बजेट भाषणमै सबै कुरा आउँछन् । मैले सांसदज्यूहरुलाई भनिरहेको छु यो नीति तथा कार्यक्रम आउँदाखेरी सोध्नुस् त क्याडरवेश भए के हुन्थ्यो ? किनकी हरेक मन्त्रालय क्याडरवेशमा चलिरहेको छ । हामी हरेक सांसदले के बोलिरहेका छौं भने विदेश जाने युवाको लर्को छ । विशेष समयमा बोल्नेक्रममा माननीय सांसदले भनेको जस्तै विदेशमात्र नभई अहिले परिवार नै पलायन हुने अवस्था आइसकेकोले अब त्यसलाई रोक्नका लागि सवल कार्यक्रम ल्याउने कि नल्याउने ? नीति तथा कार्यक्रम प्रश्तुत हुन्छ त्यसमा नराम्रो त केही छैन । त्यसैले नीति तथा कार्यक्रममा जुन कुराहरु स्पष्ट ढंगले प्रस्तुत गर्छौं भोलि बदलिन्छ त ? त्यसैले मेरो आग्रह छ– यो परम्परागत शैलीलाई परिवर्तन गर्दा देश हुने थियो कि ? र अर्को कुरा जुन सांसदहरुलाई नीति तथा कार्यक्रममा त्यो प्रश्तुत भएको छैन तथापी चर्चाको रुपमा बलियो ढंगले आएको छ त्यसलाई प्रश्तुत गर्दा के हुन्थ्यो ? भारत पाकिस्तानबीचको तनावले सार्क क्षेत्रमा कालो बादल मडारिरहेको छ । त्यसतर्फपनि नेपालको परराष्ट्र नीतिमा स्पष्ट हुन सरकारलाई आग्रह गर्छु ।’
उहाँले नीति तथा कार्यक्रममा भएका कार्यक्रम लागू गरे वास्तवमै राम्रो रहेको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल