राष्ट्रिय सभा शुन्य समयः किसानलाई मल, प्राकृतिक विपद्देखि जडिबुटी उद्योगसम्मका विषयमा सरकारको ध्यानाकर्षण

.

राष्ट्रिय सभा सदस्यहरुले विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसकी सांसद कमला पन्तले खेतीपातीको समयमा किसानलाई मल र बिउबिजन सहजतापूर्वक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले किसानले मल बिउ नपाएको गुनासो गरेको बताउनु भयो । सरकारले आवश्यक मात्रामा मल तथा बीउ भण्डारणमा रहेको बताए पनि वितरण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । वितरणमा समस्या हो भने सरकारले तुरुन्त छलफल गरेर किसानले मल तथा बीउ पाउने व्यवस्था गन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘किसानको खेती गर्ने समय छ । किसानलाई मल र बीउको आवश्यक छ । तर बजारमा मलको अभाव छ भन्ने सुन्नमा आएको छ । यो सरकारले स्प्रष्ट गर्देला । हामीलाई पुग्ने मल छ भनेर सरकारले भन्ने किसानले मल नपाउने, यो कहाँनिर तालमेल भएन अध्यक्ष महोदय । किसानले मल कसरी पाउन सक्छन् ? र मल छ तर वितरणमा समस्या हो भने कहाँनिर समस्या भयो त्यो सरकारले तुरुन्त समाधान गर्नुप¥यो । हामी उत्पादन बढाउने कुरा गर्छौ । उत्पादन जस्ले बढ्न सक्छ त्यसका बारेमा तुरुन्त छलफल गर्नुप¥यो । किसानलाई मल बीउ उपलब्ध हुनु प¥यो ।’
नेकप (एकीकृत समाजवादी) की गोमादेवी तिमिल्सिनाले गत चैत १५ गते आगलागी भएको जडिबुटी उद्योगका बारेमा सरकार मौन बसेको आरोप लगाउनु भयो । उहाँले जडिबुटी उद्योगमा अगालागीका रण सर्वसाधारण सेवा सुविधाबाट वञ्चित भएको बताउनु भयो । उहाँले उद्योग पुनः सञ्चालनका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जरिबुटी उद्योगको केन्द्रबिन्दु कारखानामा आगलागी भयो र त्यो आगलागीको बारेमा कतैबाट चर्चा भएको छैन । लयमा आउनु खोजेको स्थिति थियो । आगालागीबाट जनताले पाउने सुविधाबाट वञ्चित भएका छन् । सरकारले यो उद्योग सञ्चाल गर्न र लयमा लैजाने के सोच बनाएको छ ।’
नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले हरेक वर्ष प्राकृतिक विपद्बाट हुने धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले यसवर्ष पनि वर्षाजन्य विपद्बाट ठूलो धनजनको क्षति हुनसक्ने मौसमविद्हरुको अनुमान गरेको बताउनु भयो । उहाँले जनधनको क्षति हुनबाट बचाउन सरकारले उच्च शतर्कताका साथ समयमै पूर्वतयारी गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस वर्षपनि सरदर भन्दा बढी तापक्रम, बढी वर्षा, चट्याङ आदिले ठूलाठूला जोखिम विपद् आउनसक्ने, धनजनको क्षति हुनसक्ने मौसमविदहरुको विश्लेषण छ । समयमै उच्च शतर्ककता अपनाएर समयमै तयारी गर्न सरकारलाई ध्यानाकर्षण गर्छु ।’
राष्ट्रिय सभा सदस्यहरुले जलवायु परिवर्तनका कारण हिमताल फुटेर हुनसक्ने असर, विकास निर्माणलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । –न्युज एजेन्सी नेपाल