राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्नु भनेर सर्वोच्च अदालतले आदेश गर्दापनि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर दोहन गरिरहेको आरोप लगाउनु भयो । उहाँले तत्काल उक्त नदीबाट बालुवा, ढुङ्गा गिटी उत्खनन नरोकिए नदी छेउको बाटो नै भासिने जोखिम रहेको बताउनु भयो ।
कालीगण्डकी नदीबाट अवैध रुपमा भइरहेको बालुवा, ढुङ्गा गिटी उत्खनन रोक्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल