नेपाली काँग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरुले चुनाव जित्ने भ¥याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले सधैं नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिएपनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशकै दोस्रो पुरानो विमानस्थल टरिगाउँ विमानस्थललाई नेपालगन्ज र सुर्खेत विमानस्थलको विकल्पको रुपमा समेत प्रयोग गर्न सकिने बताउनु भयो । उहाँले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको विमानस्थल स्तरोन्नति गर्ने विषय नाटकीय ढंगले नहराओस् भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले तालि बजाएका छौं । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने पनि त्यो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । तीन अर्ब ४२ करोड विनियोजन हुनुप¥यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आएपनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल