बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा

.

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताउनु भयो । उहाँले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताउनु भयो । उहाँले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताउनु भयो । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तायर छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो । हामीले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरु आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ । शुन्यमा पु¥याउनुपर्नेछ । बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ ।’

अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल