सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश श्रेष्ठ

.

नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले तीन वटै सरकारले वातावरण सिर्जना गरिदिए समृद्धिको बाटोमा जानसक्ने आधारहरू रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा धेरै सम्भावना रहेको बताउनु भयो । देशमा ७/८ वटा केही विषयहरूलाई मात्रै प्राथमिकता राख्ने हो भने पनि आगामी दश वर्षमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैभन्दा बढी स्रोत ल्याउने हाइड्रोपावर क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटन, कृषि, आइटी, स्वास्थ्य, शिक्षा, वन्य जन्य जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले नेपाल प्राकृतिक स्रोतहरूको धनी देश भएको बताउँदै पानी मात्रै बेच्न सके पनि आम्दानी हुने जिकिर गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले लगानीको वातावरण सिर्जना गरे मात्रै यो सम्भव हुने धारणा राख्नुभयो । उहाँले केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको बताउँदै हातखुट्टा बाँधेर कुनै प्रगति गर्न नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “केन्द्रदेखि प्रदेशदेखि अधिकार नै दिँदैन तल, कसरी काम हुन्छ ? हातखुट्टा बाँधेर कुनै प्रगति हुनसक्छ ? माथिदेखि तल जति डेलीभर ग¥यो, अनि बल्ल देश बन्छ । जति डेलीभर ग¥यो, त्यसको रिजल्ट हेर्ने हो । कम्पिटिसन गराउने हो । यो चिजमा हामी लाग्नुपर्छ । छलफल गरौँ । देशमा धेरै सम्भावना छ । ७–८ वटा चिजहरूमा मात्रै हामीले फोकस ग¥यौ भने देश १० वर्षमा कायापलट हुन्छ । सबैभन्दा पहिलो हाइड्रोपावर बन्न दिनुप¥यो यहाँ । सबैभन्दा स्रोत ल्याउने त्यो हो । टुरिजम सेक्टर त्यस्तै छ, कृषि क्षेत्र त्यस्तै छ, आइटी, हेल्थ, एजुकेसन, वन जङ्गल जडीबुटी त्यस्तै छ, नेचुरल रिर्सोसहरु यति धेरै छ हामीसँग पानी मात्रै बेच्यौँ भने हामीसँग कति पैसा छ । तर, वातावरण बनाइदिनुपर्छ । चाहेँ स्थानीय तहले बनाऊ, चाहेँ प्रदेशले बनाऊ, चाहेँ सङ्घले बनाऊ । यो वातावरण  बन्यो भने मात्रै हामी समृद्धिको बाटोमा जानसक्छौँ ।”  

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहदेखि सोच र मानसिकता परिवर्तन गर्नुपर्ने बताउँदै स्रोतलाई बढीभन्दा बढी परिचालन गर्नेमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । – न्युज एजेन्सी नेपाल