मुख्यमन्त्री लामाको प्रश्नः सबै क्षेत्रबाट तनाव दिएपछि कसरी आउँछन् लगानीकर्ता ?

.

वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै मिलेर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउन सबै क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीकर्तालाई सुरक्षित महसुस गराउन नसक्दा उद्योगधन्दा सञ्चालन गर्न नसकिएको बताउनु भयो । उहाँले नेपालमा लगानीकर्तालाई ठग्ने र राजनीतिक तथा अन्य क्षेत्रबाट तनाव दिने गरिएको बताउँदै लगानीको वातावरण सिर्जना नभएको जिकिर गर्नुभयो । उहाँले प्रदेशलाई आवश्यक अधिकार नहुँदा उद्योगधन्दाहरू सञ्चालन गर्न नसकिएको बताउनु भयो । मुख्यमन्त्री लामाले सङ्घ सरकारले हेटौँडा सिमेन्ट उद्योग सञ्चालन जिम्मेवारी प्रदान गरे दुई वर्षभित्र नाफामा ल्याउने दाबी गर्नुभयो । उहाँले हेटौँडा कपडा उद्योग पनि पुँजी नभएर थन्किएर बसेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश बनाउन सबै सुधार गर्नुपर्ने आजको आवश्यकता छ । एक जना मात्रै सुधारिएर हुँदैन । सबै सुधार्नुपर्छ । अहिले इकोनोमिक ग्रोथ किन भएन ? यहाँ इन्भेस्टरहरुलाई ल्याउनुप¥यो । उद्योगधन्दा सञ्चालन गर्नुप¥यो नि । उद्योगधन्दा सञ्चालन गर्न इन्भेस्टरहरु ल्याउनुप¥यो । इन्भेस्टरहरु ल्याउन उनीहरूलाई सुरक्षित गर्नुप¥यो । इनभेस्टर आयो कि ठग्ने भन्ने भएपछि कहाँबाट हुन्छ ? चाहेँ सबै तहले, एक तहले मात्रै होइन, राजनीतिक क्षेत्रबाट होस् यहाँ अरू क्षेत्रबाट होस्, सबै क्षेत्रबाट तनाव दिएपछि को इनभेस्टर आउँछ नेपालमा ? त्यसैले इनभेस्टर आउने वातावरण हामी सबैले बनाउनुपर्छ । अहिले उद्योग धन्दाको कुरा गर्नुभएको छ, प्रदेशमा के अधिकार छ र उद्योगधन्दाको कुरा गर्ने ? हामीलाई हेटौँडा सिमेन्ट उद्योग दिनुस्, दुई वर्षभित्र नाफामा ल्याउँछौँ । हामीलाई दिनुस् कपडा उद्योग, चालु पुँजी नभएर थन्किएर बसेको छ । त्यो हामी गर्छौ ।”  

उहाँले सङ्घीयताको कार्यान्वयन सही तरिकाले नहुँदा नैराश्यता छाएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल