राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । हउाँले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताउनु भयो । उहाँले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिनुभाये । उहाँले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरु धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘किसानलाई अहिले मल चाहिएको हो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? अहिले सुशासन चाहियो की गणतन्त्र चाहियो भन्दा के जवाफ आउँछ ? सहकारी पीडितलाई पैसा फिर्ता चाहियो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? त्यसकारण जनभावनालाई, मानिसका आस्थालाई एउटा आस्थाले प्रतिनिधित्व गर्ने कुरालाई यस किसिमले प्रायोजित ढंगले कुरा गरिएका छन्, ति असल कुरा होइनन् । परिवर्तनका नाममा थुप्रै घटना भएका छन् । अपराधिक वा ज्यान लिएका समेत घटना भएका छन्, प्लेन हाइज्याक भएको छ, बम हानिएको छ, हतौडाले गर्धन रेटिएको छ । बम प्रहार भएको छ । हतौडाले टाउकोमा हानिएको छ । व्यक्तिको सम्पती लुटिएको छ, बैंक लुटिएका छन्, यत्ति गर्दा पनि नभएर देश लुटाउने सन्दर्भको कुरा हुँदा जनताको विचार र युवाको विचारमा परिवर्तन आउँछ ।’
सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताउनु भयो । शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल