डेभलपमेण्ट एशोसिएशन नेपालका उपाध्यक्ष दिनेश थकालीले विकास बैंकहरुलाई सरकारले गरेको वर्गिकरण ठिक नभएको बताउनुभएको छ ।
अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले त्यसरी वर्गिकरण गर्दा जनमानसमा घ वर्गको बैंकलाई खराब नजरले हेर्ने गरिएको बताउनुभएको हो । उहाँले कमर्सियल बैंकहरुले परियोजनाहरु लगानी गरेजस्तै घरेलु तथा मझौला उद्योगको विकासका लागि विकास बैंकले लगानी गरेको बताउनु भयो । कृषि उपज व्यवसायमा लगानी गरेको यो क्षेत्रलाई वर्गिकरणका कारण जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने वतावरण बनाउन नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘बैंक वित्त संस्थाहरुको वर्गिकरण कखगघ गरिन्छ, घ वर्गको बैंकलाई राम्रो नजरले हेरिर्दैन । जनमानमा नकारात्मक प्रभाव परेको छ । कम्तिमा राख्नैपर्छ भने क र ख मात्रै राख्दा राम्रो हुन्छ । धेरै राख्नुभएन ।’
वर्गिकरणमा क र ख मात्रै वा विकास बैंक वा कमिर्सियल भनेर छुट्याए हुने बताउनु भयो । उहाँकाअनुसार विकास बैंकले गर्ने कार्यहरु वृहत बनाउनुपर्छ । त्यसले अर्थतन्त्रमा समेत टेवा दिनसक्छ । सञ्चालकको उमेरमा हद राख्नुभन्दा पनि योग्यता, अनुभवलाई आधार बनाउनु पर्छ । —न्युज एजेन्सी नेपाल