पर्यटन विधेयकले सुशासनको प्रत्याभुति दिलाउँछः पर्यटनमन्त्री पाण्डे

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विधेयकले सुशासनको प्रत्याभुति दिलाउने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । विधेयकलाई समृद्ध र सुदृढ बनाउन मद्दत पुगेको विश्वास गर्नुभयो । उहाँले विधेयकले हाम्रा पद्धतिलाई बलियो बनाउन खोजेको भन्दै त्यसै खालका प्रवन्ध र व्यवस्था मिलाएर सुशासनको प्रत्याभुति दिलाउने स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रमैत्री र पर्यटन मैत्री व्यवस्था मिलाउनु आजको आवश्यकता भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ र यसको सैद्धान्तिक छलफलमाथि माननीयज्युहरुको उत्साहजनक सहभागिताका लागि धन्यवाद । छलफलका क्रममा माननीयहरुले विभिन्न कोणबाट आफ्ना कुराहरु राखिसकेपछि यसमा मैले अरु केही भन्नुपरेन । करिव एक तिहाई सदस्यहरुको सहभागिता रह्यो । यसलेपनि यसको महत्वलाई अझ उजागर गरेको छ । दफावार छलफलका माध्यमबाट विधेयकलाई समृद्ध र सुदृढ बनाउँछ र बाटो पक्रिन्छ भन्ने मान्दछु । मन्त्रालयले कुनैपनि जडता नराखी विधेयक ल्याएको छ । विशेषगरी यो विधेयकले हाम्रो पद्धतिलाई बलियो बनाउन खोजेको छ । त्यसैखालका प्रबन्ध र व्यवस्था मिलाउने छौं । अर्को महत्वपूर्ण कुरा सुशासनको पाटो सबैतिर खड्किएको महशुस भएको छ त्यसतर्फ हाम्रो ध्यान रहनेछ । त्यसका लागि प्रभावकारी संरचनाहरु बनाउनेमा हामी विशेष ध्यान दिनेछौं । पर्यटन व्यवसायी जो निजी क्षेत्रले  पर्यटन क्षेत्रको विकासका लागि अगुवाई गर्नुपर्छ । निजी क्षेत्र मैत्री र पर्यटनमैत्री व्यवस्था मिलाउनुपर्ने अवस्था छ । त्यसलाई हामी कानुनको माध्यमबाट स्थापित गर्नुपर्नेछ । पर्यटनमैत्री वातावरण कसरी बनाउनुपर्छ त्यसतर्फपनि हाम्रो ध्यान केन्द्रित रहनेछ ।’
उहाँले पर्यटनमैत्री वातावरण कसरी बनाउने भन्ने कुरालाई कानूनको माध्यमबाट स्थापित गर्नुपर्ने अवस्था रहेकोले त्यसैतर्फ ध्यान केन्द्रित रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल