नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताउनुभएको छ ।
शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताउनु भयो । उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताउनु भयो । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनु भयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो । त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौँ । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा पनि जगायौँ । त्यो २०—२५ वर्ष पछाडि अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ति थोरै देशहरुमध्ये पर्दछ । जसले गएको २०—२५ वर्षमा चमत्कारीक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वभाविक चाहन्छ ।’
महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल