जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता

.

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको अधिकारकानाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरुमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताउनु भयो । त्यस प्रकारका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको महशुस गर्ने गरेको उल्लेख गर्नुभयो ।
नेता सिटौलाले भन्नुभयो, ‘जनताको अधिकारको लागि जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरुको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला । यस्ता प्रकृतिका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन् । कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् । तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली काँग्रेस संगठित भएर लागेको छ ।’

नेता सिटौलाले स्व. रेग्मीले काँग्रेस पार्टी निर्माणमा पार्नुभएको प्रभाव र संगठन निर्माणमा देखाउनुभएको बाटोमा हिँड्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल