प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाउनुभएको छ ।
आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष दाहाललाई लक्षित गर्दै उहाँले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरीखान नदिनको लागि विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गर्नुभयो । उहाँले क्रान्तीको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाउनु भयो । उहाँले माओवादीले युद्धकालमा फालेका बमहरु पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्वहरु वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा क्रान्ती भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातिमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए । तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे । लुकाएर हिँडे । अहिलेपनि तिनको असर ठाउँ ठाउँमा परिरहेको छ । अहिले पनि बेवारिसे छोडेका बमहरुको कारण बच्चाबच्चीको निधन भइरहेको छ । त्यस खालका तत्वहरु हामीले वामपन्थी भनेर मिलायौँ । कम्युनिष्ट भनेर मिलायौँ । तर वास्तवमा ति वामपन्थी थिएनन् । त्यसकारण उनीहरुले कम्युनिष्ट पार्टीको महान सफलता, दुई तिहाईको लगभगको स्थिति, यो महान विजय उनीहरुले सहनै सकेनन् । विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौँ त्यही ठाउँमा पुर्याएको भए । नेकपा (एमाले) अहिले पनि प्रमुख शक्तिको रुपमा आएको छ भने । सिध्यायौँ एमालेलाई भन्दा फेरी सरकारको नेतृत्व गरिरहेको छ भने त्यो नेकपा (एमाले) अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरुले कुनैपनि हालतमा अभिवाजित पार्टी रहन नदिने र नेपाललाई खान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरुले त्यस्ता कामहरु गरे ।’
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको समेत गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल