गभर्नर पौडेल शेयर बजारप्रति उदार
नेपाल राष्ट्र बैंक मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न सफल देखिएको छ ।
राष्ट्र बैंकलले मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन स्थितिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जनाएको हो ।
केन्द्रिय बैंककाअनुसार अहिले चालु खाता तथा शोधनान्तर वचत उच्च रहन गएका कारण विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । कम्तिमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ चैत मसान्तमा करिव १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम रहेको छ ।
राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१÷८२ मा विस्तृत मुद्राप्रदायक १२.० प्रतिशतसम्म र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमाथिको दाबी १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८१ चैत मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय ११.६ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमाथिको दावी ८.१ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंककाअनुसार मौद्रिक उपकरणहरुको कार्यान्वयनमार्फत खुला बजार कारोबार थप प्रभावकारी बनाउँदै लगिएको छ । बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई ब्याजदर करिडोरभित्रै राख्ने नीतिअनुरुप २०८१ चैतमा भारित औसत अन्तरबैंक दर ३.०० प्रतिशत रहेको छ । ब्याजदर करिडोर कायम राख्न २०८१ चैतसम्ममा कारोबारको आधारमा १सय ७१ खर्ब ८३ अर्ब ४५ करोड बराबरको खुद तरलता प्रशोधन गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तथा मौद्रिक नीतिको आवधिक समीक्षामा गरिएका वित्तीय क्षेत्र तथा विदेशी विनिमयसँग सम्बन्धित अधिकांश नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा आएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंककाअनुसार वाह्य क्षेत्रतर्फ आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा चालु खाता २ सय १० अर्ब २२ करोडले र शोधनान्तर ३ सय ४६ अर्ब २३ करोडले वचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ सय ७९ अर्ब ८३ करोडले र शोधनान्तर ३ सय ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १ सय ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै विधमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरेको छ । यस्तै, नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने भएको छ ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली’ जारी गर्ने भएको छ ।
त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने भएको छ । विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ ।
नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले कार्यभार सम्हालेको एक साता नबित्दै मौद्रिक नीतिको समीक्षा गरेका छन । पौडेल शेयरबजारप्रति अलि धेरै उदार भएको उहाँले लिएको नीतिले प्रष्ट देखाएको छ । —न्युज एजेन्सी नेपाल