नीति सुधार र नवप्रवर्द्धनमार्फत पर्यटन प्रवर्द्धनमा सरकार अग्रसर छः मन्त्री पाण्डे

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदानलाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधारका साथै नवप्रवद्र्धनमा आधारित कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिरहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रको योगदान सराहनीय रहेको समेत बताउनु भयो । निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा भएको लगानीले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, नेपाली वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार र स्थानीय उत्पादनमा समेत सकारात्मक असर मन्त्री पाण्डेको भनाइ छ । उहाँले सरकारी तथा निजी क्षेत्रबाट भएको लगानी र नीतिगत सुधारका कारण पर्यटन उद्योगको आकार विस्तारका साथै पर्यटक आगमन दर तथा पर्यटकहरूले गर्ने खर्चमा समेत वृद्धि भएको बताउनु भयो । यद्धपी पर्यटन क्षेत्रबाट लिन सकिने अधिकतम लाभ प्राप्त हुन लिन नसकेको मन्त्री पाण्डेको भनाइ छ । उहाँले लगानीको खण्डिकरण,कमजोर नीतिगत वातावरण, दक्ष जनशक्तिको अभाव र प्राथमिककरणको स्पष्ट नीतिको कमीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको विषय विज्ञहरूको मत रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि नीजी क्षेत्रको प्रयास पनि सराहनीय छ । निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको लगानीबाट पर्यटन उद्योगको विकास र विस्तारमा टेवा पुगेको छ । पर्यटन उद्येगबाट आन्तरिक रोजगारीको सिर्जना, वैदेशिक मुद्राको आर्जन, नेपाली वस्तु तथा सेवाको अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारका साथै स्थानीय उत्पादनमा समेत टेवा पुगेको छ । सरकारी तथा निजी दुवै क्षेत्रबाट पर्यटन क्षेत्रमा भएको लगानी र नीतिगत सुधारको परिणामस्वरुप पर्यटन उद्योगको आकार बढेको छ । पर्यटकको संख्या र पर्यकटले गर्ने खर्चमा समेत वृद्धि भएको छ । पर्यटकीय उपजको विकास र विस्तार भएको छ । पर्वतारोहणजस्ता साहसिक पर्यटकीय गतिविधिहरुदेखि धार्मिक र सांस्कृतिक क्षेत्रमा समेत पर्यटकीय क्रियाकलाप बढेका छन् । वैदेशिक मुद्रा आर्जन, आन्तरिक पर्यटन संस्कृतिको विकास, रोजगारीका अवसरको सिर्जनामा समेत वृद्धि भएको छ । तथापि पर्यटन क्षेत्रबाट जति लाभ लिन सकिन्थ्यो त्यति लाभ लिन नसकेको अवस्था विद्यमान छ । पर्यटन राष्ट्रिय प्राथमिकताको क्षेत्र भएतापनि लगानीको खण्डिकरण, कमजोर नीतिगत वातावरण, जनशक्तिको अपर्याप्तता, प्राथमिकिकरण गर्न नसकेका कारण अपेक्षाकृत लाभ लिन नसकेको भन्ने विज्ञहरुको अभिमत रहेको छ ।’

पर्यटन क्षेत्रमा सहकार्य, लगानीको समन्वय, पूर्वाधार विकास, मानव संसाधन सुदृढीकरण, नवप्रवद्र्धनमा जोड, तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रभावकारी रूपमा ब्रान्डिङ गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड छ । —न्युज एजेन्सी नेपाल