शहर र गाउँबीचको खाडल हटाउँदै समावेशी र दिगो शहरीकरणको दिशातर्फ अघि बढ्न सरकार प्रतिवद्धः उपप्रधानमन्त्री सिंह

.

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र गाउँबीचको खाडल हटाउँदै समावेशी र दिगो शहरीकरणको दिशातर्फ अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै सिंहले दिगो र आधुनिकसँगै समावेशी शहर निर्माणका लागि सरकारले स्पष्ट शहरी विकास खाका तयार पारेको बताउनुभएको हो । उहाँले शहर र गाउँबीचको असमानता हटाउँदै समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित शहरी प्रणालीमा गर्ने उद्देश्यले सरकारले खाका तयार पारेर कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो । शहर र गाउँलाई एकआपसमा जोड्ने गरी ‘एकीकृत शहरी विकास’ अवधारणा अघि सारेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारले नेपालको दिगो र समावेशी शहरीकरणको लागि स्पष्ट खाका तयार गरेको छ । हाम्रो मुख्य उद्देश्य भनेकै गाउँ र शहरबीचको समानता हटाई समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित शहरी प्रणालीमा रूपान्तरण गर्नु हो । यसका लागि हामीले केही योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ । हामीले गाउँ र शहरलाई जोड्ने गरी एकीकृत शहरी विकासको अवधारणा अघि सारेका छौँ । यसअन्तर्गत ग्रामीण क्षेत्रमा आधारभुत शहरी सुविधाहरू जस्तै सडक, खानेपानी, बिजुली, स्वास्थ्य र शिक्षा र्पुयाउने र ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने योजना रहेको छ । यसले शहर र गाउँबीचको खाडल कम गर्नेछ ।’
शहरी सुविधाहरू ग्रामीण भेगमा पु¥याउने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल