– हेमन्त कडेल ‘हिमाल’
गणतन्त्र आयो,
तर म आज पनि उही पुरानो भाव बोकेर बाँचिरहेको छु।
शब्दहरू फेरिए-
‘सत्ता जनता’ को भनिन्छ,
तर हाम्रो पाठशालाको नीति अझै उहीँ पुरानै छ।
म शिक्षक हुँ—
केवल शब्द होइन,
सपना लेख्ने कर्मयोगी।
गणतन्त्रको चेतना जगाउने गुमनाम सिपाही,
जसले राष्ट्रवाद पढाउँछ,
तर त्यही राष्ट्रवादमा मेरो श्रम हराउँछ।
म श्रम गर्छु—
बिना घन्टी घण्टौँ पढाउँछु,
बिना थप तलब, ‘सेवा’को नाममा बाँच्दछु।
भर्ना बढाउँछु, परीक्षा सञ्चालन गर्छु,
तर अन्त्यमा प्रश्नचिन्ह ममाथि नै उठ्छ।
गणतन्त्र भनेको सिंहदरबारमा कुर्सी फेरबदल मात्र होइन,
यो त गाउँको शिक्षक, किसान, मजदुरको पीडा सुन्न सक्ने
सच्चा कान बन्ने प्रणाली हो।
म राष्ट्रको मुटुमा छु—
शब्दको बीउ रोप्छु,
चेतनाको पानी सिंचाइ गर्छु,
र राष्ट्रवादको जरामा मलजल गर्छु
शिक्षाको खेतमा।
यस गणतन्त्र दिवसमा,
म यही एक कामना गर्छु—
शिक्षकको श्रमलाई सच्चा सम्मान मिलोस्,
शिक्षा र राष्ट्रवाद एउटै आत्मामा बगून्,
र गणतन्त्र पुस्तौंपुस्ता
शिक्षकको सपना पूरा गर्ने यन्त्र बनोस्।
जय शिक्षक! जय श्रम! जय राष्ट्रवाद! जय गणतन्त्र!
घर: तुलसिपुर–९, दाङ
हाल: श्री सरस्वती मा.वि., विराटनगर–९, मोरङ
(मा.वि. तह, अङ्ग्रेजी शिक्षक)