उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पार्नुभयो । उहाँले राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उहाँको दाबी छ । वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताउनु भयो । उहाँले वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘राजश्वको सन्दर्भमा जुन अनुमान गरिएको छ । राजश्वको अनुमान म यहाँहरुसँग आँखा जोडेर भन्न चाहन्छु । आगामी आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा समीक्षाको बेलामा फेरि प्रश्न सोध्न सक्नुहुन्छ, पूरा भएन नि त राजश्वको लक्ष्य भनेर । त्यो स्पेश मैले दिएको छैन । हो मेहनत गर्नुपर्नेछ । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य छ । चुपचाप बसेर आफैँ हुँदैन, मेहनत गर्नुपर्छ । त्यसरी राजश्वको लक्ष्य निर्धारण गरिएको छ । आन्तरिक ऋणमा म के भन्न चाहन्छु भने हाम्रो वित्त आयोगले जुन सीमा निर्धारण गरेको थियो, जिडिपिको ५.५ प्रतिशतसम्म तपाईंहरुले ऋण लिन सक्नुहुन्छ भनेर जुन सीमा निर्धारण गरिएको थियो, वित्त आयोगले दिएको सीमा भन्दा कममा आन्तरिक ऋण परिचालन गर्नेकुरा बजेटले बोलेको छ । हामीले ५.३ मात्रै आन्तरिक ऋण उठाउँछाँै भनेको छौँ । यसले पनि हामी मनमर्जी ढंगले ऋण उठाउने पक्षमा छैनौँ भन्ने देखाउँछ ।’
देश विकासका लागि जनशक्ति र प्राकृतिक श्रोतको आवश्यक हुने बताउनु भयो । उहाँले प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनैपनि देशको विकास हुनसक्ने जिकिर गर्नुभयो । उहाँँले जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? भन्नेकुरा सोच्नुपर्ने विषय रहेको बताउनु भयो । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरुलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय भएको बताउनु भयो । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुनै देश धनी नभएको जिकर गर्नुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘देश विकासको लागि हामीले प्रयोग गर्ने दुई वटा चिज हो । एउटा जनशक्ति र अर्को प्राकृतिक श्रोत । प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनैपनि देशको विकास हुनसक्छ । हामीले हाम्रो जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? सोच्नुपर्ने विषय यो हो । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरुलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय यो हो । त्यस कोणबाट अहिलेको बजेटले केही महत्वपूर्ण प्रश्तावहरु गरेको पनि छ । हामीसँग भएको प्राकृतिक श्रोतको उपयोग हो । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुन देश धनी भएको छ ?’
उपप्रधानमन्त्री पौडेलले अहिले अनुमान गरिएको खर्चको श्रोत क्षमताको प्रभावकारी परिचालनद्वारा पूरा गर्न सकिने बताउनु भयो । बजेट बिना तयारीका खुद्रा योजनामा जानु हुँदैन भन्नेमा होशियार रहेको बताउनु भयो । सहकारी क्षेत्रका समस्या समाधानमा बजेट केन्द्रित रहेको पनि बताउनु भयो । बजेटको कार्यान्वयनमा सबैको साथ र समर्थन सरकारलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले धर्म निर्वाहका लागि मात्रै बजेट नल्याएको उल्लेख गर्दै कार्यान्वयन गरेर अपेक्षित नतिजा हाँसिल गर्ने लक्ष्यका साथ प्रश्तुत गरिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल