मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस्

.

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गर्नुभयो । उहाँले बजेटबारे सांसदहरुले राख्नुभएका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गर्नुभयो । उहाँले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अब मन्त्रीजीहरुलाई ब्युरोक्याट्सले सपोर्ट त गर्छ । जवाफ दिने कुरामा । तर मन्त्रीजीहरुले आफैँले ध्यान दिनु भएन भने मन्त्रीजीहरको उपस्थिति जस्तो देखिन्छ, त्यस उपस्थितिले मन्त्रीजीहरुलाई के भयो र ? जवाफ कर्मचारीहरुले तयार गरिदिन्छन्, आएर पढिदिन्छु भनेको जस्तो लागे जस्तो हुँदैन । छलफलमा सहभागी हुने, संसदीय कामलाई पनि महत्व दिने काम गर्नुपर्छ । मन्त्रीहरुले जहिले पनि म देख्छु संसदीय बैठकलाई पनि महत्व नदिने, अनि संसदीय दलको बैठकलाई महत्व दिनुहुन्न, दललाई महत्व दिनुहुन्न, संसदमा भएका बहस, छलफललाई महत्व दिनुहुन्न भने अनि के गर्नुहुन्छ ? त्यसकारण संसदीय दलको बैठक र यहाँ हुने छलफलहरुलाई माननीयजीहरुलाई, मन्त्रीजीहरुलाई म आग्रह गर्न चाहन्छु, महत्व दिनुस् ।’

अध्यक्ष ओलीले सांसदहरुको उपस्थिति संसदीय दलको बैठकमा कम रहेको भन्दै आपत्ति जनाउनु भयो । सरकारले अर्थतन्त्र ओरालो लाग्नबाट रोकेर सकारात्मक दिशातर्फ अघि बढाइरहेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल