प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल

.

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताउनुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताउनु भयो । उहाँले कसरी लोकप्रियताको खोजि भन्दापनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउनु भयो । के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरु सबैलाई थाहा छ, एमालेको नेतृत्वको सरकार होस् वा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस्, त्यसले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको छ ।  यस पटक मैले लोकप्रियताको खोजि भन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । लोकप्रिय हुनुपर्छ, के गर्दा लोकप्रिय भइएला ? कस्तो कार्यक्रम, कस्तो योजना, कस्तो पदावलीको लोकप्रिय भइएला भन्दा पनि के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको छु । एमाले पृष्ठभूमिका अर्थमन्त्रीले बजेट बनाउँदा प्रतिकुल परिस्थितिमा अनुशासित बजेट बनाउन सक्छन् भन्नेकुरामा म होशियार छु ।’

अर्थमन्त्री पौडेलले सिर्जनाशिल युवाहरुका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल