विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः पूर्वअर्थमन्त्री जनार्दन शर्मा

.

पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्य संरचनागत प्रणाली संविधानको मान्यताविपरित रहेको टिप्पणी गर्नुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका उपमहासचिव शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संरचनागत प्रणालीको कमजोरीकै कारण बजेट कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो । उहाँले अगामी आर्थिक वर्षको बजेटले गरिबी घटाउने नभई बढाउने समेत टिप्पणी गर्नुभयो । उहाँले संविधानको उद्देश्य सामाजिक न्याय भए पनि बजेटले सम्पत्तिको न्यायोचित वितरण गर्न नसकेको बताउनु भयो । महासचिव शर्माले संविधान संशोधन गरेर राज्य संरचनाअनुरूप नभए संरचनाहरू संविधानअनुरूप बनाउनुपर्ने बताउनु भयो । उहाँले बजेट आउँदा हरेक वर्ष प्रशंसा हुने गरे पनि ती बजेटको सफल कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले मुलुकमा विद्यमान कतिपय कानुनहरू अझै पनि विकास विरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने विकास विरोधी कानूनहरूकै कारण सफल हुन नसकेको बताउनु भयो । उहाँले बजेटको सफल कार्यान्वयन गर्नको लागि कानूनी सुधार आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गरिबीलाई पुर्ने हो कि बढाउने हो भन्दा बढ्नेतिर जान्छ यो बजेट । गरिबी पुरिँदैन । जब गरिबीको खाडल बढ्छ भने हाम्रो अर्थतन्त्र सफल हुन्छ त ? हाम्रो बजेट सफल हुन्छ त ? हामीले गरिबीको खाडल पुर्नेतिर लाग्नुर्पयो नि । संविधानको उद्देश्य त सामाजिक न्याय हो नि त । सम्पतीको न्यायोचित वितरणको कुरा हो नि त । अहिलेका हाम्रा समग्र संरचनाहरू संविधानको मान्यताअनुसार छँदै छैनन् । यो त गम्भीर प्रश्न हो । कि त संविधान संशोधन गरेर संरचनाअनुरूप बनाऔँ कि त संविधान अनुरूप संरचना बनाऔँ । बजेटहरू आउँदा हिजो पनि प्रशंसाहरू हुने गथ्र्यो, आज पनि भइरहेकै छ । आज पनि कानूनहरू हाम्रो विकासका विरुद्धमा छन् । ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने भनेर हिजो पनि हामीले भन्दै आएको हो नि । खै त भएन । त्यस कारण अझै पनि विकास विरोधी कानूनहरू यावत छन् । तर यी कानूनहरू संशोधन गर्न अति आवश्यक छ । बजेट कार्यान्वयन गर्नको लागि कानून संशोधन नगरी हुँदैन ।’

नेपालको कार्यान्वयन संरचना काम पन्छाउने र सहजीकरण नगर्ने खालको रहेको उहाँको टिप्पणी छ । उहाँले परिणामविहीन भारी संरचना नेपालले बोकिरहेको उल्लेख गर्दै यसको पुनर्संरचना गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल