शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

.

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।

सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उहाँले सत्तारुढ दलहरुले गृहमन्त्रीकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिनुभयो । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।
सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । अर्को, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भइरहेका छन् तिनका बारेमा पनि कुराहरु भए । संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल मात्रै भयो ठोस निर्णय भएको छैन । सकारात्मक रुपमा छलफल अगाडि बढाउने कुरा पनि भएको छ । हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्नेछ । सत्तापक्षबाट संसद खोल्नुपर्छ भन्ने विषयवस्तु आयो । गृहमन्त्रीज्यूले पनि राजीनामा होइन अब संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हामीले सुशासनको विषय महत्वपूर्ण हो भनरे राख्यौँ । अरु नयाँ विषयवस्तुमा केही छलफल भएन ।’ 

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद खुलाएर अघि बढ्नुपर्ने प्रश्ताव राखेकोमा सत्तापक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताउनु भयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताउनु भयो ।

मंगलवारदेखि संसदको कारबाही अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल