काठमाडाैँ । महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘राइज एन्ड लिड’ नामक कार्यशाला भोलि (बिहीबार) काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमामा आयोजना हुँदैछ। यस कार्यशालामा अमेरिका विभिन्न क्षेत्रका महिला प्रशिक्षकहरूले सहभागिहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिने छन्।
कार्यशालाको आयोजना नेसनल प्याब्सन काठमाडौँले गरेको हो भने समन्वय काठमाडौँ महानगर समितिबाट गरिएको छ । बिहान ८ बजेबाट सुरू हुने कार्यक्रमको विशेषता भनेको यसमा अमेरिकाबाट आएका विभिन्न पेसागत पृष्ठभूमिका सातजना प्रशिक्षकहरूले तालिम दिने छन्।
प्रशिक्षकहरूमा डा. सारा सफारी (लेखिका, वक्ता, कलेज प्राध्यापक तथा महिला सशक्तीकरणकी अभियन्ता), लेटिजिया पिलेजी (व्यवसायी तथा एलपी इन्भेस्टमेन्ट्सकी संस्थापक), क्याथी आर्मस्ट्रङ (डी ए म्यानुफ्याक्चरिङ कम्पनीकी सीईओ), मार्सिया लाकोर-लिटल (क्लिनिकल ल्याब वैज्ञानिक तथा अवकाशप्राप्त ग्राफिक डिजाइनर), कायला आर्मस्ट्रङ (क्यालिफोर्निया पोलिटेक्निक युनिभर्सिटी अफ पोमोना) र आशा पटेल (आयुर्वेद चिकित्सक) जस्ता अमेरिकी प्रशिक्षकहरूको सक्रिय उपस्थिति रहनेछ।
कार्यशालामा सहभागीहरूले अन्तरक्रियामूलक ढंगले प्रशिक्षण प्राप्त गर्ने र उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्ने आयाेजककाे भनाइ छ। कार्यक्रममा सहभागी हुन निःशुल्क प्रविष्टिको व्यवस्था गरिएको छ।