वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छः मन्त्री दाहाल

.

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गर्नुभयो । मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताउनु भयो । उहाँले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर, महानगरहरूले अर्थात सबै नगर तथा महानगरहरूले वातावरण संरक्षणको लागि नेतृत्व गर्नुपर्छ । हरेक नगर, हरेक पालिकाहरूले त्यसको नेतृत्व गर्नुपर्छ । विशेष गरी, महानगरहरूले त्यसको नेतृत्व गर्नुपर्छ, किनभने त्यहाँ घना बस्ती छ, फोहोरहरू त्यहाँ बढी उत्पादन हुन्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्छ । तर, पालिकाहरूले गरेर मात्रै हुँदैन । अथवा, सरकारले गरेर मात्रै हुँदैन । जनताहरूमा पनि चेतना जाग्नुपर्छ, जनताहरूले साथ दिनुपर्छ । आम जनताले त्यसमा साथ दिएनन् भने हामी सफलतामा पुग्न सक्दैनौँ ।” 

उहाँले हरेक क्रियाकलापहरू वातावरणमैत्री हुनु आवश्यक रहेको बताउनु भयो । – न्युज एजेन्सी नेपाल